काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
“कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौंला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथासक्य छिटो राम्रो बनाऔं । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौं,” मन्त्री घिसिङले भने ।
उनले विनासबाट हामी उठ्यौं भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्यांकन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए ।
मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट पारे ।
सहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।