२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

shivam cement
मध्यान्ह
२०८२ असोज २ गते ०७:२४
आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ : विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बन्नुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्ने आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मेका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मेका उनी विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भएका थिए । 

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । पछि विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय काँग्रेसको विकास र विस्तारमा आजीवन योगदान दिए । 

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिमा एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनः बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठुला समर्थकका रूपमा रहियो । नेपाली काँग्रेसलाई लोकप्रिय बनाउन उनी क्रियाशील रहियो ।

विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरी जल बन्दी गृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बिपीसँगै सुन्दरी जल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक संगठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सिंहले सक्रिय भूमिका खेले ।

गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । बिपीको निधनपछि काँग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित उनले २०४६ सालको आन्दोलनमा महत्त्वपूर्ण योगदान दिए । कम्युनिष्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर थिए ।

नेता सिंहको २८औँ स्मृति दिवसका अवसरमा आज काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दै छन् । यस अवसरमा आज बिहान ०७:४५ बजे शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण कार्यक्रम राखिएको जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise