–उत्तमकुमार पोखरेल, सिरहा
सुन्दै राग उठे सुनी भुवनमा तारा रमाए उहाँ
साक्षी छिन् धरणी बगे नयन ती रारा बनेकी त्यहाँ
राम्रो राग छरे सुनेर धुन त्यो बज्दै थियो बाँसुरी
तृष्णामा जन जो थिए जति सबै नाच्दै बसे माहुरी ।। १
राधाको बसमा परेर अहिले बिर्सेर बस्छौ कता
आस्थाको जल छर्न यो भुवनमा नाँचेर आऊ यता
बस्ने वास लुटे सबै गरिबकोे माया हरायो कता
खाने अन्न लुटी बसे महलमा हाँसेर बस्छौ कता ।। २
खाली भो घर यो रहेन ममता पीडा सबैको हरि
रक्षा यो गर है बसी नगरमा साक्षी तिमी छौ हरि
भन्दै प्रेम गरी झुकी चरणमा गर्दै छु पूजा वसी
आऊ हे जनमा दिए मृदुल ती मिल्ने छ सारा खुसी ।। ३
बित्दै रात गयो गयो दिन सबै हे देव बस्छौ कता
आऊ यो जगमा समस्त जनको पीडा सबैका व्यथा
हर्दै ताप सधैँ गरेर ममता प्राणी बचाऊ अब
आत्माको मृदु चाल हुन्छ कसरी भन्दै बसेका सव ।। ४
सीताराम थिए बसे भुवनमा हेरेर लीला सबै
बस्दै ध्यान गरे समस्त जनले छाया बनेका सधैँ
बुझ्दैनौ किन हो पुकार जनको यो सृष्टि तिम्रै त हो
आऊ झट्ट सुनी सबै विरह यो भन्दै बस्यो दास यो ।। ५
छन्दः शार्दूल विक्रीडित
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies