२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

उपेक्षामा कर्णाली राजमार्ग

ADV
कुलेन्द्र शाही
२०८१ साउन ६ गते ०६:४५
उपेक्षामा कर्णाली राजमार्ग

सुर्खेत : कर्णाली राजमार्ग सञ्चालन आएको १८ वर्ष बढी भयो । तर, राजमार्ग सञ्चालन आएको १८ वर्ष बढी भइसक्दा समेत कर्णालीवासी ढुक्क्ले यात्रा गर्न सकिरहेका छैनन् । कर्णाली राजमार्ग मृत्यु मार्गको उपनामले पनि चिन्छन् । कर्णाली प्रदेशका पाँच हिमाली जिल्ला जुम्ला, हुम्ला, कालिकोट, डोल्पा र मुगुलाई प्रदेश राजधानीसंग जोड्ने एकमात्र राजमार्ग हो । राजमार्ग सञ्चालन भएको १८ वर्ष भइसक्दा पनि हिउँदमा धुलाम्य र वर्खामा हिलाम्य हुने स्थिती अझै सुध्रिएको छ । 

यो वर्ष वर्खा सुरु हुन वित्तिकै कर्णाली राजमार्ग क्षतविक्षत छ । राजमार्गका विभिन्न स्थानमा खाल्डाखुल्डी छन्, भने कतै पहिरो थुप्रिएको छ । कतै सडकनै बगाएको अवस्था छ । गत एक हप्ता अगाडी मात्रै निरन्तर दुइ दिन भन्दा बढी कर्णाली राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियो । साँघुरो एकलेनको सडक, साँघुरा मोड, खाल्डाखुल्डी जस्ता कारणले ठुलो संख्यामा दुर्घटना हुन थालेपछि कर्णाली राजमार्ग मृत्युमार्गका रुपमा समेत चिनिएको छ । 

यो राजमार्गमा यात्रा गर्ने यात्रुहरुको जिब्रोमा भगवानदेखि आफ्नो देविदेवताको नाम झुन्डिएको हुन्छ । राजमार्ग साघुरो, हिलाम्य र खाल्डाखुल्डीले सधै वर्षायाममासास्ती खेप्दै आएका छन् । नागरीकले जति सास्ती खेपेपनि यो राजमार्ग भने राज्यको उपेक्षामा पर्ने गरेको स्थानीयवासी बताउँछन् । 

हिउँदमा धुलोले र बर्खामा हिलोले यात्रा गर्ने यात्रुहरुलाई निकै समस्या हुने गरेको छ । हिउँदमा धुवाँले र हिउँदमा हिलोले सामान मात्रै नभई मान्छे समेत नचिनिने अबस्था हुन्छ । बर्खामा पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि राजमार्ग स्तरोन्नति तथा कालोपत्रेका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ । स्थानीयहरुले कालोपत्रे गरिएको भए पनि साँघुरो र खाल्डा खुल्डीले गर्दा दुर्घटनाको जोखिम उच्च रहेको भन्दै त्यसमा राज्यले छिट्टै ध्यानदिनुपर्ने बताउँदै आएका छन् ।

वर्षातमा दैलेख र कालिकोट क्षेत्रका दर्जनौं स्थानमा सडक अवरुद्ध भइ सवारी जाममा पर्ने गरेका छन् । कर्णाली राजमार्ग र कर्णाली करिडोरमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको कालिकोटका स्थानीय रविन परियारले बताए । उनले सडक गुणस्तरीय र दिगो रुपमा स्तरोन्ती गर्न आग्रह गरे । राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । सरकारवाला निकायले सडक स्तरोन्नति गर्नतर्फ विभिन्न बहाना बनाउँदै आएका छन् । सडक डिभिजन कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित बाङ्गेसिमलदेखि दैलेखको दहीखोलासम्मको १३२ किलोमिटर खण्डलाई हेर्छ भने त्यहाँभन्दा माथि जुम्ला सम्मको १०४ किलोमिटर खण्ड सडक डिभिजन जुम्लाले हेर्दै आएको छ । तर दुवै निकायले सडक स्तरोन्नति तथा कालोपत्रे गर्नतर्फ ध्यान दिन सकेका छैनन् । यता कर्णालीका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले भने सडक स्तरोन्नतिको लागि बजेट विनियोजन गरिएको बारे कुनै पनि जानकारी नभएको बताए । 

यसरी, प्रदेश सरकार सडक स्तरोन्नति गर्नतर्फ अग्रसर नभएको प्रष्ट देखिन्छ । गत वर्ष पनि सडक स्तरोन्नति तथा कालोपत्रेको लागि कुनै पनि बजेट छुट्टाएको थिएन् । 

कर्णाली राजमार्गमा ११ वर्षमा २ सय बढीले ज्यान गुमाएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/०७१ देखि गत आर्थक वर्ष २०८०/०८१ सम्म २ सय ८८ जनाले ज्यान गुमाएका छन् । 

७ सय ७८ सवारी दुर्घटनामा परेर उनीहरुले ज्यान गुमाउनु परेको हो । दुर्घटनाबाट १ हजार १ सय १२ जना घाइते भएका छन् । 

निरन्तर बढ्दो सवारी दुर्घटना

राजमार्गमा दुर्घटना सवारी दुर्घटना हुनेको संख्या निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०७०/०७१ मा ११ सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु र ८ जना घाइते भएका थिए । यस्तै, २०७१/०७२ मा २४ सवारी दुर्घटनामा परेर ४४ जनाको मृत्यु र १५ जना घाइते भएका थिए । त्यस्तै २०७२/०७३ मा सवारी दुर्घटनाको संख्या भने केही घटेको छ । जसमा १९ सवारी दुर्घटनामा परेर २० जनाको मृत्यु र १३ जना घाइते भएका छन् । २०७३/०७४ मा १३ सवारी दुर्घटनामा परेर १९ जनाको मृत्यु र ७ जना घाइते, २०७४/०७५ मा २० सवारी साधन दुर्घटनामा २६ को मृत्यु र ९ घाइते भएका थिए ।२०७५/०७६ मा ४० सवारी दुर्घटना २७ को मृत्यु र ४८ घाइते, २०७६/०७७ मा ३८ सवारी दुर्घटना, १४ को मृत्यु र ५४ घाइते, २०७७/०७८ मा ११२ सवारी दुर्घटना, १९ को मृत्यु र ११८ घाइते भएका थिए । २०७८/०७९ मा १३८ दुर्घटना, ५९ जनाको मृत्यु र २५३ घाइते, २०७९/०८० मा १२७ सवारी दुर्घटना, ३३ को मृत्यु र २२३ घाइते र २०८०/०८१ मा २३७ सवारी दुर्घटना, १४ को मृत्यु र २६४ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।वर्षौँदेखि यातायातबाट विमुख कर्णालीका जनताले कर्णाली राजमार्ग सञ्चालनमा आएपछि गौरव महसुस गरे पनि बर्सेनि हुने सडक दुर्घटनाले गर्दा त्रास र निराशा बढाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise