-धनप्रसाद पुन ‘दीपशिखा’, बाग्लुङ
१.
हुनेखानेहरूले हो मन फुकाएर दानदक्षिणा गर्ने
सफलताको शिखरमा पुगे पनि फेदतिर हो झर्ने
जीवनमा प्रगति भएन भनी निराशामा डुब्नेहरू
किन पीर मान्छौं धनी गरिब आखिर सबै हो मर्ने ।
२.
अरूलाई अनपढ देख्नेले आफूलाई बिद्धान ठान्छन्
आफ्नालाई हेला गर्छन् पराईलाई बा–आमा मान्छन्
अक्षम्य भूल गर्दा एक शब्द बोल्न नसक्ने भक्त हुन
मर्न पर्दैन उनीहरू जिउँदै विचारको मलामी जान्छन् ।
३.
सबैको बोल्ने मुख काम गर्ने हात सुन्ने कान हुन्छ
विपन्नलाई दुई चार पैसा दिए धर्म हुन्छ दान हुन्छ
लाखौं धन सम्पत्तीको धाक लगाएर मात्र के गर्नु
परोपकारी क्षेत्रमा खर्च गरे पो चौतर्फी मान हुन्छ ।
४.
दृढ इच्छाशक्ति हुनेले हो अग्ला–अग्ला हिमाल चढ्ने
डर छेरुवा पछाडि हट्छन शूरबीर हो अगाडि बढ्ने
जिन्दगी पुस्तकको लामो अध्याय हो मनन गर्नुहोस्
जीवनको रहस्य बुझ्न अर्काले होइन आफैँ हो पढ्ने ।
५.
आज भोलि भन्दाभन्दै दिन क्रमशः ढलिराछ
जीर्ण शरीर बाथ र दमले भित्र भित्रै गलिराछ
जीवनमा ठूलै प्रगति गरी देखाउन नसके पनि
महाशय दुई छाक गुजारा जसोतसो चलिराछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies