२०८२ असोज २२ गते बुधवार / Oct 08 , 2025 , Wednesday
२०८२ असोज २२ गते बुधवार
Ads

अर्घाखाँचीमा शान्ति–सुरक्षाका लागि सबैको हातेमालो अपरिहार्य : डिएसपी जिसी

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असोज ११ गते २०:५६
अर्घाखाँचीमा शान्ति–सुरक्षाका लागि सबैको हातेमालो अपरिहार्य : डिएसपी जिसी

अर्घाखाँची : अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिवश बहादुर जिसीले जिल्लामा शान्ति र सुरक्षा कायम गर्न प्रहरीको मात्र प्रयास पर्याप्त नहुने भन्दै सम्पूर्ण नागरिक, व्यवसायी तथा सरोकारवालासँग हातेमालो अपरिहार्य रहेको बताएका छन् । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रमुख, यातायात व्यवसायी, अगुवा नागरिकलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्दै डिएसपी जिसीले प्रहरीको काम जनताको अपेक्षा पूरा गर्ने र शान्ति–सुरक्षाको अनुभूति दिलाउनेतर्फ केन्द्रित हुने बताएका हुन् । 

उनले भने, ‘हामी प्रहरी जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता राख्छौं । अर्घाखाँचीका जनताले उठाएका जायज माग तथा विषयलाई सम्बोधन गर्न प्रहरी तत्पर छ । प्रहरीले जनताको अपेक्षा पूरा गर्न सकेमात्रै नागरिकहरूले हामीबाट शान्ति–सुरक्षाको अनुभव गर्नेछन् ।’

डिएसपी जिसीले समाजमा देखिने चोरी, डकैती, तस्करी, गैरकानुनी कामकाजलगायत आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन प्रहरीले कडा कदम चाल्ने स्पष्ट चेतावनी दिए । साथै, कानुन हातमा लिएर समाजलाई आतंकित बनाउन खोज्ने जोसुकैलाई पनि कानुनी कठघरामा उभ्याइने दृढता व्यक्त गरे ।

उनले विगतका घटनाबाट सिक्दै नेपाल प्रहरीले आफ्नो कार्यशैलीलाई अझ सुदृढ र प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेको जानकारी दिए । जसअन्तर्गत कानून र जनताको पक्षमा अहोरात्र खटिने, नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्ने र समाजलाई आपराधिक गतिविधिबाट सुरक्षित बनाउन विशेष अभियान अघि बढाइएको उनले बताए ।

‘समाजका सबै क्षेत्र र व्यवसायीहरूको सहयोग बिना सुरक्षाको लक्ष्य हासिल गर्न कठिन हुन्छ । त्यसैले यसलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्छ र प्रहरीसँग सहकार्य गर्नुपर्छ,’ उनले भने । 

डिएसपी जिसीले जनचेतनाको कमीका कारण समाजमा अहिंसा, आपराधिक क्रियाकलाप तथा कानुनले निषेध गरेका गतिविधि हुने गरेको उल्लेख गर्दै सचेत नागरिकको सक्रियता आवश्यक रहेको धारणा राखे । उनले भने, ‘सचेत नागरिकले प्रहरीको भूमिकाप्रति आलोचना गर्नुपर्छ । आलोचनाले मात्र प्रहरीलाई सच्याउने अवसर मिल्छ । केवल प्रशंसाले मात्र उद्देश्य पूरा हुँदैन ।’

चाडपर्व नजिकिँदै गर्दा सुरक्षामा चुनौती बढ्ने भएकाले त्यसअनुरूप विशेष सुरक्षा योजना तयार पारिएको उनको भनाइ छ । उनले यातायात र सडक सुरक्षामा विशेष ध्यान दिइएको उल्लेख गर्दै ट्राफिक व्यवस्थापनलाई दुरुस्त पारिएको जानकारी दिए ।

समाजमा शान्ति र सुरक्षा कायम गर्न प्रहरीको प्रतिबद्धता मात्र नभइ नागरिक, व्यवसायी, सरोकारवाला सबै पक्षको हातेमालो आवश्यक रहेको डिएसपी जिसीले बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise