अहिले सबैको ध्यान एमालेको महाधिवेशन तर्फ तानिएको छ । महाधिवेशनबाट नेतृत्वमा को–को आउला भन्ने चासो सबैलाई छ । विशेषतः महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवको पदमा को छानिएला भन्ने विषय चासोमा छ । महाधिवेशनको समय नजिकिँदै जाँदा उम्मेदवारी क्रमिक रुपमा घोषणा पनि हुन थालेका छन् । पार्टी अध्यक्षमा हालका अध्यक्ष केपी शर्मा ओली नै उठ्ने तयारी गरिरहेका बेला नेता भीम रावलले दाबेदारी प्रस्तुत गरेका छन् । रावलको दाबेदाबीसँगै एमालेमा थप महाधिवेशनको रौनक बढेको देखिन्छ । साथै एमालेमा गुटगत निर्वाचन हुन्छ कि भन्ने सम्भावना पनि बढेको देखिन्छ । हामीले एमालेभित्रको गुटगत राजनीति र रावलको घोषणालाई लिएर नेतृ अष्टलक्ष्मी शाक्यसँग केही जिज्ञासा राखेका छौँ । नेतृ शाक्यसँग गरिएको कुराकानीको सम्पादित अंश :
भीम रावलले आगामी अध्यक्षको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाईँसमेत सहभागी भएको समूहको प्रतिनिधित्व गर्ने रावलको घोषणालाई कसरी बुझ्ने ?
नेतृत्वमा आउन चाहना राख्ने कुरा स्वभाविक हो । उहाँले उम्मेदवारी दिएको विषयलाई स्वभाविक नै लिउँ । योग्यता पुगेको, मापदण्ड पुगेको सबै उठ्न पाउँछ । यो व्यक्तिगत स्वतन्त्रता हो । तथापी मलाई उहाँले हतारो गरेर उम्मेदवारी घोषणा नगरेको भए हुने थियो भन्ने लागेको छ । सबैसँग छलफल र सरसल्लाह गरेको भए उपयुक्त हुन्थ्यो भन्ने मेरो सुझाब छ ।
भनेपछि रावलको उम्मदेवारी तपाईँहरुको प्यानलगत उम्मेदवारी होइन ? के उहाँले समूहमा छलफल नगरी उम्मेदवारी दिनुभएको हो ?
हिजो हामीले प्यानलको अभ्यास गर्यौं । जसले एमाले साँच्चिकै एक हुन सकेन । हामी बिग्रियौं । गुट बलियो भयो तर, पार्टी बलियो भएन । मेरो प्रष्ट कुरा, अहिले एमाले गुट मुक्त हुनुपर्छ । एमाले एकढिक्का हुनुपर्छ । मुलुकको नेतृत्व हाँक्ने पार्टी यसरी खण्डित हुनुहुँदैन् । रावल जिले दिएको उम्मेदवारी पार्टीभित्र सल्लाह गरि दिइएको हो । उहाँले उम्मेदवारी घोषणाले पार्टीभित्र फेरि अर्को गुट जन्माउने खतरा छ । जुन उचित छैन ।
तपाईँहरु १० बुँदे सहमति गर्दै एमालेमा आउनु भएको हो । तपाईँकै भाषाअनुसार रावलको उम्मेदवारी एकल हो । यसलाई हेर्दा तपाईँहरुको समूह विभाजित वा खण्डित भएको हो ?
हाम्रो समूह विभाजित भयो भनेर भन्न मिल्दैन् । हामी सबैलाई एकताबद्ध बनाउन पर्छ भनेर लागेका छौं । यो कुनै व्यक्तिको विषय होइन्, यो सिंगो एमालेको विषय हो । हाम्रो समूह पनि एकताबद्ध हुनुपर्छ र अरुलाई पनि विभाजित बनाउन हुँदैन । उम्मेदवारी दिने सन्दर्भमा कुनै एक समूहमा मात्रै होइन समग्र पार्टीभित्र छलफल हुनुपर्छ । सबैलाई समेट्नुपर्छ । विभाजित भएर पार्टी बन्दैन । पार्टी नबनेको हामीले व्यहोर्दै आएका छौं ।
०५४ मा वामदेवले पार्टी फुटाउनुभयो निकै ठुलो नोक्सान भयो, अहिले माधव जीले पार्टी फुटाउनु भयो । कुन अवस्थामा छौं, सबैलाई थाहा छ । कम्युनिष्टहरु गुट र फुटको पक्षमा लाग्नुहुँदैन् । यो सुहाउँदैन ।
तपाईँले गुटगत राजनीतिलाई गलत भनिरहँदा महाधिवेशन प्रतिनिधि चयनको विषयमा निकै गुटगत राजनीति देखियो । तपाईँहरुले प्रतिनिधित्व गर्ने समूहले स्थान नै पाएन । अनि कसरी महाधिवेशनबाट गुट अन्त्य होला ?
पहिलो कुरा, म सीमित भएर बस्न चाहन्न । नेकपा (एमाले) भनेर आइसकेपछि म गुट बलियो होइन, एमाले बलियो बनाउन चाहन्छु । म मेरो समूह भएर सीमित भएर बस्न चाहन्न । जुन इमान्दार छ, जो लगनशील छ, जो पार्टी भनेर लागेको छ, जो जिम्मेवारी लिन योग्य छ, त्यस्ता व्यक्तिलाई जिम्मेवारी दिने वा नदिने ? प्रश्न यहाँ हो । म यो विषयमा खुलस्त छु । म यो विषयमा कुनै गुट भनेर हेर्दिन । तपाईँले भने झैं केही ठाउँमा त्यस्ता समस्या देखियो, जसलाई समाधान गर्नु अनिवार्य छ । तर, समाधान फेरि गुटगत राजनीति गरेर हुने होइन ।
तपाईँको भावनाप्रति सबैले सायद सम्मान र कदर नै गर्लान् । तर, एमालेभित्रको अभ्यास गुटगत राजनीतिबाट उन्मुक्त हुने खालको छ र ?
हामी सकारात्मक भएर सोंच्नु पर्छ । गुट बनाएर, पार्टी विभाजन गरेर न व्यक्तिको राजनीतिक भविष्य रहन्छ नत पार्टीको । ०५४ सालमा वामदेव कमरेडले पार्टी फुटाउँदा पनि मैंले विरोध गरेकै हो, अहिले माधव जीले पार्टी फुटाउँदा मैंले ठिक गर्नुभयो भन्ने कुरा हुन सक्दैन् । फुटले कसैको भलो हुँदैन् । नमिलेका कुरा छ भने पार्टीभित्रै संघर्ष गरेर मिलाउने हो । एउटा परिवारमा त कति गाह्रो हुन्छ, मिलेर बस्न । पार्टीभित्र सजिलो हुने कुरा भएन । त्यसकारण गुटगत राजनीतिकको शैलीलाई अन्त्य गर्न सबैले प्रतिबद्धता जनाउनुपर्छ । त्यसको विकल्प छैन् ।
फरक प्रसंगमा, एमालेको इतिहासमा महिलाको हिसाबले केही निश्चित पात्र मात्रै अगाडि आएको देखिन्छ । तपाईँ जुन अवस्थामा हुनुहुन्छ, अब तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भनेर धेरैले प्रश्न गर्छन् । तपाईँको उम्मेदवारी केमा हुन्छ ? तपाईँ उपाध्यक्ष भइसकेको मान्छे तलतिर आउने कुरा हुन्न होला ?
म कम्युनिष्ट आन्दोलनमा लागिरहँदा देश र जनताको हितमा काम गर्नुपर्छ भनेर सोंचेकी थिएँ । कम्युनिष्ट पार्टीले मात्रै सुन्दर, न्यायपूर्णं समाजको सिर्जना गर्न सक्छ भनेर म आन्दोलनमा होमिएकी हुँ । मैंले कुुनै महत्वकांक्षा राखेर आएकी होइन । मैंले निजि विचार कहिल्यै राखेको छैन् । पार्टीले मलाई जसरी जिम्मेवारी दिन्छ त्यसलाई म स्वीकार गर्छु । अबको सन्दर्भमा पनि सबै साथीहरुको राय सुझाब सल्लाहअनुसार नै अगाडि बढ्छु ।
जब नेकपा एमाले एकढिक्का बन्छ तब मेरो भविष्य पनि सुन्दर हुन्छ । म त्यसको लागि काम गर्छु । त्यसको लागि म जस्तोसुकै योगदान गर्न तयार छु । मैंले ठ्याक्कै कुनै पदमा उम्मेदवारी दिने भनेर निर्णय लिइसकेकी छैन् । कमिटीमा जसरी छलफल हुन्छ, त्यसरी नै म उम्मेदवार हुन्छु ।
अर्को कुरा, विधानको विषय पनि छ । ७० वर्षे उमेर हद भनेको कारण म एक कार्यकाल मात्रै काम गर्न पाउँछु । त्यो अवधिसम्म उपयुक्त जिम्मेवारी पाए म लाग्छु ।
अन्तिममा, भीम रावलले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । पार्टी अध्यक्ष ओलीले पनि पुनः एक कार्यकालका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गर्दै हुनुहुन्छ । यस्तो अवस्थामा तपाईँ कसलाई सहयोग वा समर्थन गर्नुहुन्छ ?
कसैलाई सहयोग वा समर्थन गर्ने विषय अहिले छैन् । अहिले त्यो स्तरमा छलफल चलिसकेको छैन् । अहिले जसरी अध्यक्ष हाइलाइट भएर चर्चा भएको छ, यो गलत छ । पार्टी सामूहिकतामा चल्ने हो । सबै पदाधिकारीको भूमिका उत्तिकै महत्वपूर्णं हुन्छ । अध्यक्ष सर्वेसर्वा हुनाले पार्टी बिग्रिएको हो । म एक अध्यक्षको पदलाई हेरेर गरिएको व्याख्या र विश्लेषणप्रति सहमत राख्दिन । यहाँ विषय अध्यक्षको मात्रै बनाइनु हुँदैन । कुनै व्यक्तिले अध्यक्षमा उम्मेदवारी दियो भन्दैमा त्यसैलाई हाइलाइट गरिरहनु पर्छ भन्ने लाग्दैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies