नियाग्रा, क्यानडा : क्यानडाको नायग्रामा नेपालीहरूको महान् चाड दशैंको अवसर पारेर सांस्कृतिक कार्यक्रमसहित शुभकामना कार्यक्रम सम्पन्न भएको छ । ‘नेप्लिज इन नायग्रा’ (एनआईएन) नामक सामाजिक संस्थाले शनिबार बडा दशैं–२०८२ को अवसरमा विशेष समारोह आयोजना गरेको हो ।
नायग्राको सेण्ट क्याथरिन्सस्थित सफल व्यवसायी किशोर नेपालद्वारा सञ्चालित टिट्रो रेस्टुरेन्टको हलमा आयोजित कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले दशैंलाई विदेशमै पनि आफ्नै माटोको स्वादसहित मनाउन पाएकोमा खुशी व्यक्त गरे ।
सांस्कृतिक कार्यक्रमलाई झनै आकर्षक बनाउन चर्चित कलाकार रेखा ढुंगाना कटुवाल र खेम ओलीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए । उनीहरूको मनमोहक प्रस्तुतिले सहभागी नेपाली समुदायलाई मातृभूमिको संस्कृति र लोकतालमा झुमाएको थियो । क्यानडाको चिसो मौसमबीच पनि नेपाली गीत–संगीतले हल न्यानो बनेको सहभागीहरूले अनुभव गरेका थिए ।
उक्त अवसरमा संस्थाका अध्यक्ष राज शर्माले समुदायबीच आपसी सम्बन्ध र सहयोग अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए । उनले विदेशमा रहेर पनि नेपालीपन जोगाउन सकिने उदाहरण यस प्रकारका सांस्कृतिक कार्यक्रम भएको उल्लेख गरे ।
त्यसैगरी संस्थाका कोषाध्यक्ष रविना पौडेलले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाली समाज जहाँ भए पनि आपसमा एकजुट भई सहयोग गर्नुपर्ने धारणा राखिन् । कार्यक्रममा नायग्राका युवा स्वास्थ्य व्यवसायी तथा समाजसेवी मदन ज्ञवालीले पनि शुभकामना मन्तव्य दिँदै एकआपसमा सहकार्यमा जोड दिए । ज्ञवालीले संस्थाले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत योगदान पुर्याउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका सञ्चालक डा. भरत शर्माले यस्ता सांस्कृतिक जमघटहरूले नयाँ पुस्तामा नेपाली संस्कृतिप्रतिको मोह अझ प्रगाढ बनाउने बताए । ‘विदेशमा हुर्किरहेका बालबालिकालाई आफ्नै चाडपर्वको महत्व बुझाउन यस्तो अवसर महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘यस्ता कार्यक्रमले केवल गीत–संगीत मात्र नभई नेपाली समुदायबीच भेटघाट, आपसी संवाद र भावनात्मक एकतामा मद्दत पुर्याउँछ ।’
सहभागीहरूबीच रमाइलो जमघट, नेपाली परिकारको स्वाद तथा अनुभव आदानप्रदानले कार्यक्रमलाई अझै स्मरणीय बनाएको थियो । सो अवसरमा दशैं विशेष क्विज तथा नृत्य प्रतियोगिताले नेपाली कला र संस्कृतिको उजागर गरी थप रौनकता बढाएको थियो ।
सांस्कृतिक प्रस्तुति, नेतृत्वको सम्बोधन र सामूहिक सहभागितामार्फत सम्पन्न भएको यस कार्यक्रमलाई सहभागीहरूले विदेशमा दशैंको वास्तविक रंग देखाउने अवसरका रूपमा व्याख्या गरे ।
नेपाली समाज नायग्राले आगामी दिनमा पनि यस प्रकारका सामाजिक र सांस्कृतिक गतिविधि निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ । नायग्रामा बसेका नेपालीहरूले यस वर्षको बडा दशैंलाई सम्झनायोग्य बनाउँदै एकताको शक्ति र संस्कृतिप्रतिको प्रेम पुनः प्रदर्शन गरेको ‘नेप्लिज इन नायग्रा’का बोर्ड अफ डाइरेक्टर आर.सी. गिरीले जानकारी दिए ।
रत्न तिमिल्सिनाको संयोजनमा आयोजित उक्त कार्यक्रम बिनिता घिमिरेले सञ्चालन गरेकी थिइन् ।