म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीस्थित भगवती कोत मन्दिरमा नवमीको दिन सरकारी राँगोको बलि दिइएको छ ।
अष्टमी अर्थात् कालरात्रिमा गरिएको खुला बढिबढाउमार्फत राखु भगवतीका नागनागीका भगवान् खत्रीले सबैभन्दा धेरै रु. ४ लाख ९२ हजार कबोल गर्दै नवमीका दिन मार हानेका हुन् । पूजा समितिले निर्धारण गरेको मूल्य रु. ५० हजारबाट अन्य प्रतिस्पर्धीलाई पछि पार्दै खत्रीले हालसम्मकै सबैभन्दा बढी मूल्यमा कोत मन्दिरमा राँगो हानेका हुन् ।
फ्रान्सको आर्मीमा विगत आठ वर्षदेखि कार्यरत खत्रीका भाइ शान्त खत्रीले ‘भुतवली’का लागि दिइने बलीमा रु. १२ हजारमा मार जितेका छन् । एकै परिवारका दुई भाइले मार हानेसँगै नवमीका दिन कोतमन्दिरमा एक ऐतिहासिक रेकर्ड कायम भएको छ । राँगो काटेका खत्रीलाई पूजा आयोजक समितिसहितले फेटा बाँधी सम्मान गरेका थिए भने नागनागी चौतारी आमा समूहले पैसाको माला लगाइदिएर शुभाशिष प्रदान गरेको थियो ।
हरेक वर्ष नवमीका दिन सरकारी राँगोको मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरूले फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने परम्परा रहेको छ । यस वर्ष १० वटा राँगो र १२ वटा बोकाको बलि दिइएको छ, जुन भाकल स्वरूप चढाइएका थिए । सरकारी राँगोपाठोसँगै पञ्चौल राँगो हानेकालाई पनि आफन्तजनले सम्मान गर्ने गरेका छन् । राँगो काटेपछि मनले चाहेको पूरा हुने जनविश्वासका कारण बढिबढाउमा सहभागी हुनेहरूको संख्या वर्षेनी बढ्दै गएको छ ।
तत्कालीन बाइसे–चौबिसे राज्यकालदेखि नै यहाँको कोत मन्दिरमा बढिबढाउ गरी राँगो काट्ने चलन रहँदै आएको छ । यहाँ सरकारी मार हान्दा कबोल हुने रकम नेपालकै सबैभन्दा धेरै हुने अनुमान गरिएको छ ।