नवरात्रमा पुजा गरिएको दुर्गा मुर्ति विसर्जनका क्रममा मधेस प्रदेशको जनकपुर र लुम्बिनीको नेपालगन्जमा दुई समुदायबीच झडप भएका छन् । तनाब बढ्दै जाँदा जनकपुरमा कर्फ्यू लगाइएको छ भने नेपालगन्जमा स्थिति सामान्य हुने क्रममा छ ।
जनकपुरको देवपुरा रूपैठामा दुई समुदायबीच तनावको स्थिति आएको हो । दशैं समापनपछि दुर्गा मुर्ति विसर्जनका क्रममा दुई समुदायका युवाबीच ढुंगामुढा भइ झडप भएको हो । त्यस क्रममा तेलिया पोखरीको डिलमा बनाइएको टहरामा आगजनीसमेत गरिएको छ ।
एकअर्को समुदायका घरमा आगजनीसमेत गर्न थालिएपछि कर्फ्यू लगाउने स्थिति आएको स्थानीय प्रशासनले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास हानेको थियो । झडप र ढुंगामुढाले केही प्रहरी र स्थानीय घाइते भएका छन् ।
शान्ति सुरक्षाको स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार साँझ साढे ६ बजेदेखि वडा नम्बर २० का विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरेको छ । यसअघि गत भदौ दोस्रो साता पनि गणेश पूजाको मूर्ति विसर्जनका क्रममा जनकपुरमा दुई समुदायबीच झडप भएको थियो ।
नेपालगन्जमा पनि शुक्रबार झडपको स्थिति भयो । दुर्गा मूर्ति विसर्जनको क्रममा फुल्टेक्रा आँखा अस्पताल अगाडि भएको एउटा सामान्य घटना तनावमा परिणत भएको थियो । बाँके प्रहरी प्रमुख अंगुर जिसीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सतर्कतापूर्वक तनावलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । तर,दोष लगाएर सामाजिक सञ्जालमा आरोपप्रत्यारोप गरिरहेका छन् ।
कृष्णनगरमा कडा सुरक्षाबीच दुर्गा मूर्ति विसर्जन गरिएको छ ।
तस्वीरः शहबाज खान/कपिलवस्तु