सिन्धुली : लगातार दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग पुन: बन्द भएको छ । बीपी राजमार्ग अन्तर्गत नेपालथोक–भकुण्डेवेशी खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
रोशी खोलामा आएको बाढीका कारण सो खण्डका एक दर्जनभन्दा बढी स्थानमा सडक बगाएर क्षतविक्षत बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यसअघि असोज ११ र १२ गतेको बाढीले क्षति पुर्याएको सडकमा अस्थायी ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालन गरिएको थियो। तर पछिल्ला वर्षासँगै आएको बाढीले ती अस्थायी ट्र्याकहरू पनि पुनस् बगाएको हो ।
सुनकोशी गाउँपालिका–१ को गजुली दहमा पहिरो खसेर सडक अवरुद्ध भएको छ भने नेपालथोक–घ्याम्पे खोलाको क्षेत्रमा सडक बगाएको प्रहरीले जानकारी दिएको छ। यस्तै, सुनकोशी–६ कानढुङग्रेमा ढुङ्गा र माटोसहितको पहिरो खसेर शनिबारदेखि नै राजमार्ग बन्द भएको छ ।
शनिबारदेखि नै राजमार्ग खुलाउन पहल भइरहेको भए पनि लगातारको वर्षाले पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ । यसैबीच, कमलामाई नगरपालिका–८ हर्दियामा खोला र पहिरोका कारण सिन्धुली–भिमान खण्ड पनि आइतबार बिहानदेखि अवरुद्ध बनेको छ । त्यहाँ स्थानीयको सहयोगमा तीनवटा जेसीबी प्रयोग गरी अवरोध पन्छाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
सिन्धुलीमा बीपी राजमार्ग मात्र होइन, मध्यपहाडी र मदन भण्डारी लोकमार्गहरू पनि लगातारको वर्षाका कारण अवरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–६ नागस्थान र गोलन्जोर गाउँपालिका–६ अक्करे भिरमा ढुङ्गा, माटो र लेदो सहितको पहिरो खसेर सडक बन्द भएको छ ।
त्यसैगरी, मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुली–हेडौंडा पश्चिम खण्ड पनि अवरुद्ध छ। मरिन गाउँपालिका–२ सिन्दुरे दोभानमा पहिरो गएपछि इलाका प्रहरी कार्यालय कपिलाकोटको समन्वयमा अवरोध पन्छाउने काम जारी रहेको जनाएको छ ।