हेटौँडा : अविरल वर्षापछि अवरुद्ध भएका मकवानपुर हुँदै काठमाडौँ जोड्ने मुख्य सडक खण्डहरूमध्ये केही सोमबार बिहानैदेखि खुलेका छन् । केही सडक अझै पनि अवरुद्ध रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौबिसे) मार्गमा सवारीसाधनको आवागमन पुनः सुरु भएको छ ।
तर, भीमफेदी–कुलेखानी–सिस्नेरी खण्ड र कान्ति लोकपथ भने अझै अवरुद्ध नै रहेको प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।
उनका अनुसार भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा रहेको डोढारे खोलाले राजमार्गकै केही भाग बगाएको छ । साथै, दक्षिणकाली मन्दिर नजिक ठुलो पहिरो गएको कारण सो खण्डमा सवारी सञ्चालन हुन नसकेको हो ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार सो सडक खण्डको सिस्नेरी भागमा सडक पुनःस्थापना र दक्षिणकाली क्षेत्रमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।
यस्तै, कान्ति लोकपथमा ठिंगनदेखि बगुवा खोलासम्म तीन ठुला पहिरोले सडकका केही भाग बगाएका छन् भने हेटौँडादेखि बगुवा खोलासम्म साना–ठुला गरी आधा दर्जनभन्दा बढी पहिरो खसेका छन् ।
प्रहरीका अनुसार कान्ति लोकपथमा खसेका पहिरो पन्छाउने र बगाएको सडक मर्मत गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।