कतार: मध्यपूर्वको देश कतारमा रहेका नेपालीहरूले विजयादशमीको टीका लगाउँदै दसैँलाई भव्य रूपमा मनाएका छन् । कतारका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीले आफ्नै निवासमा र सङ्गठित भएका नेपालीले समूहगत रूपमा दसैँ मनाएका हुन् । दसैँको टीका बिहीबार परेका कारण अधिकासंको ड्युटी परे पनि सोही दिन साँझ र शुक्रबारसहित आजसम्म नेपालीहरूले टिका जमरा लगाउँदै दसैँ हर्षोल्लासका साथ मनाएका हुन् ।
कतारमा स्थापित लुम्बिनी प्रदेश समन्वय परिषद् र कोसी प्रदेश समन्वय परिषद्ले आफू मातहतका जिल्लाहरू समेटेर संयुक्त रूपमा एक कार्यक्रमको आयोजना गर्दै दसैँ मनायो । कतारमा स्थापित थुप्रै जिल्ला संस्थाहरूले भने टिका जमरा ग्रहण कार्यक्रमको आयोजना गरे । जिल्ला संस्थाहरूअन्तर्गत म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना), पर्वत समाज, बागलुङ सेवा समाज, सङ्खुवासभा समाज, नेप्लीज फिटनेस टिम कतारले अलग अलग कार्यक्रमको आयोजना गर्दै दसैँ मनाए । कतार एयरवेजमा कार्यरत नेपालीहरू मिलेर स्थापना गरेको श्री सद्भाव युवा समाजले पनि दसैँ भव्य रूपमा मनायो भने ठकुरी सहयोग सञ्जाल र दाङ देउखुरी समाज, झापाली समाज कतार लगायतका संस्थाले समेत दशैको टीका जमरा ग्रहण कार्यक्रम सम्पन्न गरे ।
कतारमा रहेका नेपाली व्यवसायी, एनआरएनए अभियन्ता, सामाजिक तथा बौद्धिक व्यक्तित्वहरूले सामूहिक, पारिवारिक र संस्थागत रूपमा टिका जमरा ग्रहणसहित दसैँ भव्य रूपमा मनाएका छन् । कतारको सनैया, होमसाईड, रस्लाफान लगायताका क्याम्पभित्र रहेका नेपाली श्रमिकहरूले समेत आफ्नो कम्पनीको कम्पाउन्ड तथा आफ्नै निवासमा दसैँ मनाएका छन् ।