अविरल वर्षाको कारण इलामको सुर्योदय नगरपालिका–१ स्थित मानेभन्ज्याङ्गमा गएको पहिरोमा पुरिएकाहरुको उद्वारको लागि भारतीय सीमा रक्षक फौज एसएसबी पनि सहभागी भएको छ । सशस्त्र प्रहरी बललाई सघाउन एसएसबीको एउटा टोली त्यहाँ पुगेको थियो । नेपाली भूमिमा बाढीपहिरोमा उद्दार सहायतामा भारतीय सुरक्षाकर्मी आएको सम्भवतः यो पहिलो घटना हो ।
आईतबार बिहान ५ बजेतिर स्थानीय राजु क्षेत्रीको जस्ताले छाएको घरमाथि पहिरो खसेको थियो । करिब ३९ फिट माथिबाट झरेको पहिरोमा एकै घरका पाँच जना पुरिएको खबर आएपछि सशस्त्र प्रहरी बल उद्दारका लागि पुगेको थियो । पहिरोमा परी पुरिएकोहरुको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल बिओपी मानेभन्ज्याङ्ग र उसको समन्वयमा भारतीय समकक्षी एसएसबी २६ बटालियन डि कम्पनीबाट इन्सपेक्टर महमद सर्फराजको कमाण्डमा खटिएको सुरक्षा फौज संयुक्त रुपमा उद्दारमा खटिएको थियो । क्षेत्रीको घरका पाँचै जनाको शव निकालिएको थियो । त्यस्तै, पहिरोमा परेका १० जना घाईतेको पनि उद्दार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । पुरिएका १ जना अझै बेपत्ता छन् ।
मनसुनजन्य विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीले काठमाडौ उपत्यकासहित देशभरका इकाईहरु तथा ४१ वटा स्थानमा रहेको मनसुन प्रतिकार्य अस्थायी बेसहरुमार्फत उद्दारमा संलग्न भएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । विपद् उद्वार सामाग्रीसहित विपद् प्रतिकार्यका लागि अहिले पनि सशस्त्र प्रहरी बल परिचालन भइरहेको उनले जनाए ।