काठमाडौंः जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा झापाको दमक ३ स्थित भ्युटावरमा साढे २५ करोडको क्षति भएको छ । सहरी तथा भवन निर्माण कार्यालय, झापाका प्रमुख रमेश थिङलका अनुसार भ्युटावरमा साढे २५ करोडको क्षति भएको हो ।
एक अर्ब ६४ करोडकाअे लगानीमा बनेको भ्युटावर सञ्चालनमा आएको ३ महिना नपुग्दै तोडफोड भएपछि अहिले बन्द गरिएको छ। २३ मंसिर २०८१ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको भ्युटावर गत १ साउनदेखि मात्र सञ्चालनमा आएको थियो । व्यापारिक कम्प्लेक्सको अवधारणामा निर्मित टावर सर्वसाधारणलाई दृश्यावलोकनका लागि खुला गरिएको थियो ।
१८ तले टावरको सबै सिसा फुटाइएका थिए । टावरको गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी गरिएको थियो । जान सक्ने अवस्था पनि नभएको भ्युटावरको भित्र पनि आगो लगाइएको थियो, त्यहाँ आगो लाग्दा अटोमेटिक पानी झर्ने प्रणाली रहेकाले भित्रचाहिँ आगो लाग्न पाएन ।
सर्वसाधारणको लागि श्रावण देखि खुल्ला गरिएको भ्युटावरबाट अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार आम्दानी भएको थियो । पहिलो एक महिनामा ६ हजार ७ सय १३ जनाले टावर चढेर दृश्यावलोकन गरेका थिए । २३ भदौसम्म पार्किङ र अवलोकन शुल्कसहित २ लाख ५ हजार ५ सय ३० रुपैयाँ संकलन भएको थियो । सो अवधिमा एक हजार ९ सय ५५ ले भ्यु टावरको दृश्यावलोकन गरेका थिए ।