कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएसँगै विश्वभर फेरि नयाँ खालको त्रास फैलिएको छ । दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको ओमिक्रोन अफ्रिकामा मात्रै नभई विश्वका थुप्रै देशमा एकैपटक देखिन थालेको छ । सुरुवाती अवस्थामै ओमिक्रोनका संक्रमितहरु अफ्रिकासँगै चीन, अमेरिका, क्यानडा, नेदरल्याण्ड, अष्ट्रेलियालगायतका देशमा पनि देखिएका छन् ।
ओमिक्रोनका संक्रमित देखिएका देशबाट अन्य देशहरुले क्रमिक रुपमा आवतजावत बन्द गरिरहेका छन् । नेपालले पनि दक्षिणी अफ्रिकाका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । गृहमन्त्रालयले आइतवार सूचना जारी गर्दै अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रवेश गर्न रोक्ने निर्णय गरेको छ । गृहले अध्यागमन विभाग र सीमा क्षेत्रका स्थानीय प्रशासनलाई दक्षिणी अफ्रिकी मुलुकका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन गरेको थियो । गृहले देखाएको यो तदारुकता सराहनीय छ तर, ओमिक्रोनका संक्रमित दक्षिण अफ्रिकामा मात्रै सीमित नरहेको कारण अन्य देशबाट पनि आवात जावतमा ध्यान दिनु आवश्यक देखिन्छ ।
विश्व स्वास्थ्य संगठनले जनाएअनुसार कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा निकै घातक प्रकृतिको छ । जिन परिवर्तनमा निकै आक्रामक रहेको भनिएको यस भेरियन्टले मानिसको कोषलाई निकै छिटो कमजोर बनाउन सक्ने क्षमता राख्दछ । बताइएअनुसार यसअघि देखिएका ‘अल्फा, ‘बिटा’, ‘गामा’ र ‘डेल्टा’ भन्दा यो निकै छिटो प्रभाव देखाउने खालको छ ।
नेपालमा हालसम्म ओमिक्रोनका संक्रमितहरु भेटिएको पुष्टी भएको छैन् तर, जोखिम भने निकै बढी छ । खुला हवाई उडान र दक्षिणी क्षेत्रको खुला सीमा नाकाले पनि त्यसको जोखिमलाई बढाएको छ । कोरोना महामारीको दुई लहरले थलिएको देशको अर्थतन्त्र नियमित चलायमान भइरहने र महामारी पनि नफैलिने ढंगले राज्यले वातावरण निर्माण गर्नमा तुरुन्त नीति र कार्यक्रम निर्माण गर्न जरुरी छ । जसले गर्दा स्वास्थ्यसम्बन्धि मापदण्डको पालना गर्ने आम वातावरण निर्माण गर्दै उत्पादन र वितरणका क्षेत्रहरु यथावत सञ्चालन गर्न सकियोस् ।
ओमिक्रोनको लहर कति फैलिएला र त्यसको विश्व समुदायमा के–कस्तो असर पर्ला त्यो हेर्न नै बाँकी नै छ । तर, बिगतमा महामारीले समस्या सिर्जना गरिसकेपछि मात्रै स्वास्थ्य क्षेत्रमा राज्यले धिमा गतिमा ध्यान दिएको कारणले समाजमा ठुलो त्रासको अवस्था सिर्जना गरेको थियो । अहिले विश्वमा देखिएको कोरोनाको नयाँ भेरियन्ट मुलुकमा नभिँत्रिदै नेपालको स्वास्थ्य क्षेत्रमा महामारीलाई थेग्न सक्ने व्यवस्थापनको पाटो कस्तो छ ? राज्यले अति द्रुत गतिमा तथ्यांक निकाल्ने र आवश्यकतालाई सम्बोधन गर्ने कामलाई अगाडि बढाउन जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies