काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न सुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।
बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपन्छीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्यांक संकलन गरिने छ ।
बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलनपछि तथ्यांकको आधारमा किसानले गरेको योगदानको मूल्यांकन गरी सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ ।
मन्त्रालयले किसानले बाली तथा पशु धनमा बिमा गरेको भए त्यसको सहजीकरण मल, बिउ विजन, प्रविधि, प्राविधिक सिपलगायतमा सहयोग उपलब्ध गराउने तथा आवश्यकता भएको स्थानमा क्षतिपूर्ति समेत उपलब्ध गराउने जनाएको छ ।
विवरण प्राप्त भएपछि तथ्यांकका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण र कार्यान्वयन गरिने सूचना अधिकारी जोशीले जानकारी दिए ।