काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढी पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको अनुगमन गरेका छन् ।
बिहीबार बिहान मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित मन्त्री घिसिङले भदौ १८ गतेको पहिरोले क्षतिग्रस्त बनेको राजमार्गको अनुगमन गरेका हुन् ।
बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो ।
मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई संघीय राजधानी काठमाडौँसँग वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने ‘लाइफ लाइन’ का रूपमा रहेको यो सडकलाई जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न आग्रह गरेका छन् ।
गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे-नेपालथोक खण्डमा क्षति भएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा हालैको बाढीले करिब चार किलोमिटर पुनः बगाएको छ ।
गत वर्षको बाढीबाट क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छ भने कहीँ खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।