२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

गौर नगरपालिकाका मेयरमाथि बाढीपीडितको पीडामा राजनीति गरेको आरोप, पत्रकारमाथि आक्रमण

shivam cement
मध्यान्ह
२०८२ असोज २४ गते १८:१५
गौर नगरपालिकाका मेयरमाथि बाढीपीडितको पीडामा राजनीति गरेको आरोप, पत्रकारमाथि आक्रमण

रौतहट : गौर नगरपालिकाका मेयर शम्भु साहमाथि बाढीपीडित जनताको पीडालाई राजनीतिक प्रचार र झुटो सूचना फैलाएको आरोप लागेको छ । यस विषय सार्वजनिक गर्ने पत्रकार प्रवीण टिबडेवालमाथि भने आक्रमण भएको छ ।

तीन दिनअघि गौर क्षेत्रमा आएको बाढीले जनधनको क्षति भएको बेला मेयर साहले सामाजिक सञ्जालमार्फत “भारतले आफ्नो पहलमा स्लुइस गेट खोलेको” दाबी गरेका थिए । तर पत्रकार टिबडेवालले दशगज्जास्थित स्लुइस गेटमा पुगेर सामाजिक सञ्जालमा लाइभ प्रसारण गरी वास्तविकता उजागर गरे । उनको स्थलगत रिपोर्टिङमा गेट बन्द रहेको र स्थानीयले पनि गेट नखुलेको पुष्टि गरेका थिए ।

बाढी र डुबानले प्रभावित बस्तीका जनता राहतको पर्खाइमा रहेका बेला मेयरले गलत सूचना फैलाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । मेयरको दाबी गलत रहेको प्रमाणसहित समाचार प्रकाशन गरेपछि पत्रकार टिबडेवालमाथि मेयरनिकट समूहले आक्रमण गरेको बताइएको छ । आक्रमणअघि मेयरले आक्रमणकारीहरूसँग छलफल गरेको दाबी गरिएको छ ।

आक्रमणकारीहरूले पत्रकार टिबडेवाललाई पाँच दिनभित्र ज्यान मार्ने धम्की दिएको र शारीरिक आक्रमणको प्रयास गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

पूर्वनगरप्रमुख अजय गुप्ताले जनप्रतिनिधिले जनभावना विपरीत कार्य गर्नु र पत्रकारमाथि आक्रमण गराउनु निन्दनीय भएको बताए । उनले लोकतन्त्रमा आवाज उठाउनु सबैको अधिकार भएको उल्लेख गरे । त्यस्तै, संविधानसभा सदस्य तथा नेकपा (एमाले) नेता बबन सिंहले मेयरको जनाधार घट्दै गएपछि आतिएर जनतामाथि आक्रमण गराउन थालेको भन्दै कडा आलोचना गरे ।

सचेत नागरिकहरूले पत्रकार टिबडेवालले बाढीको समयमा जनतालाई सुसूचित गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मेयरको व्यवहारको निन्दा गरेका छन् । टिबडेवालले आक्रमणको समयमा नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठ आफूसँगै रहेको र घटनाको प्रत्यक्षदर्शी भएको बताए । उनले महासंघसँग दोषीमाथि कारबाहीका लागि पहल गरिदिन माग गरेका छन् ।

टिबडेवालले बाढी र डुबानजस्तो संवेदनशील अवस्थामा गलत सूचना फैलाएर जनभावनामाथि खेलबाड गर्ने र सत्य उजागर गर्ने पत्रकारमाथि आक्रमण गराउनु प्रेस स्वतन्त्रता र लोकतन्त्रको आत्मामाथि प्रहार भएको बताए ।

यसैबीच, प्रहरी प्रशासनले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise