काठमाडौंः बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बिपी राजमार्ग आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । यही असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको राजमार्ग मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो ।
राजमार्गको काभ्रे र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले बताए । उनका अनुसार उक्त राजमार्ग दुईतर्फी रूपमा आइतबारदेखि सञ्चालनमा आउने छ ।
सडक खुलाउन रोशीखोलामा डाइसर्भन निर्माण, बगर मिलाउने, खाल्डा पुर्नेलगायत काम गरिएको छ । क्षतिग्रस्त सडकको मर्मत सोमबारदेखि सुरु गरिएको थियो । बाढीपहिरोका कारण काभ्रेको चौकीडाँडामा सबैभन्दा बढी क्षति पुगेको थियो ।
साथै काभ्रेको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो । त्यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल)मा क्षति पुगेको न्यौपानेले जानकारी दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको अवस्थाबारे जानकारी लिएका थिए । उनले उपकरण तथा जनशक्ति थप गर्न र बत्तीको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिएका थिए ।