२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

पाकिस्तानी प्रहरी प्रशिक्षण केन्द्रमा आतङ्कवादी आक्रमण, ७ अधिकारीको मृत्यु, १३ घाइते

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते १४:१३
पाकिस्तानी प्रहरी प्रशिक्षण केन्द्रमा आतङ्कवादी आक्रमण, ७ अधिकारीको मृत्यु, १३ घाइते

काठमाडौंः पाकिस्तानको उत्तरपश्चिमी सहर डेरा इस्माइल खानस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा शुक्रबार राति भएको आतङ्कवादी आक्रमणमा कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको र १३ जना घाइते भएको पाकिस्तानी अधिकारीहरूले शनिबार जनाएका छन् । आक्रमणमा संलग्न छ जना आतङ्कवादी पनि मारिएका छन् ।

यो घटनालाई पछिल्ला वर्षहरूमा सो क्षेत्रमा बढ्दै गएको आतङ्कवादी हिंसाको अर्को उदाहरणका रूपमा हेरिएको छ । सशस्त्र समूहहरूको सक्रियता बढ्दै गएपछि पाकिस्तान अहिले बिग्रँदो सुरक्षा अवस्थासँग सङ्घर्ष गरिरहेको छ ।

डेरा इस्माइल खान सहरको बाहिरी क्षेत्र रट्टा कुलाचीस्थित प्रहरी प्रशिक्षण केन्द्रमा एक आत्मघाती बमवर्षकले विस्फोटक पदार्थले भरिएको ट्रक गेटमा ठोक्काउँदा ठूलो विस्फोट भएको थियो । त्यसपछि अन्य आक्रमणकारीहरूले भारी हतियारसहित परिसरभित्र प्रवेश गर्ने प्रयास गरेको प्रहरीका वरिष्ठ अधिकारी सज्जाद अहमदले बताए ।

‘प्रारम्भिक विस्फोटपछि आक्रमणकारीहरूले प्रशिक्षण केन्द्रमा आक्रमण गर्न सफल भए, त्यतिबेला करिब दुई सय भर्ती र तिनका प्रशिक्षकहरू भित्रै थिए’, अहमदले भने । उनका अनुसार प्रहरी र आतङ्कवादीहरूबीच करिब छ घण्टासम्म तीव्र गोली हानाहान भएको थियो । उक्त भिडन्तमा सात प्रहरी कर्मचारीको मृत्यु भएको र १३ जना घाइते भएको पुष्टि गरिएको छ ।

प्रहरीको विज्ञप्तिअनुसार आक्रमण अत्यन्त योजनाबद्ध र समन्वित रूपमा गरिएको थियो । ड्युटीमा रहेका अधिकारीहरूले तत्काल प्रतिकारात्मक कारबाही गर्दै आक्रमणकारीहरूलाई नियन्त्रणमा लिन प्रयास गरेका थिए । विज्ञप्तिमा भनिएको छ, ‘विस्फोटक पदार्थले भरिएको ट्रक प्रशिक्षण विद्यालयको मुख्य गेटमा ठोक्किँदा ठूलो विस्फोट भयो, जसले पर्खालको केही भाग भत्कायो र एक प्रहरी अधिकारीले घटनास्थलमै ज्यान गुमाए ।’ 

विस्फोटपछि वर्दीधारी आतङ्कवादीहरूले परिसरमा प्रवेश गरी स्वचालित हतियारले अन्धाधुन्ध गोली चलाएका र ग्रेनेडसमेत फ्याँकेका थिए । पछि प्रहरी र अर्धसैनिक बलहरूले संयुक्त रूपमा आक्रमणकारीहरूलाई नियन्त्रणमा लिँदै परिसर खाली गरेका थिए । भिडन्तमा छ जना आतङ्कवादी मारिएका र उनीहरूबाट आत्मघाती भेस्ट, विस्फोटक पदार्थ, हतियार तथा गोला–बारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीले मारिएका प्रहरी अधिकारीहरूको अदम्य साहस र बलिदानको प्रशंसा गर्दै ‘उनीहरूको वीरता देशको सुरक्षा र स्थायित्वका लागि अमूल्य योगदान हो’ भने ।

प्रतिबन्धित आतङ्कवादी सङ्गठन तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले सुरुमा आक्रमणको जिम्मेवारी लिएको थियो, तर केही समयपछि दोस्रो विज्ञप्ति जारी गर्दै संलग्नता अस्वीकार गरेको थियो । यो समूह अफगानिस्तानमा सन् २०२१ मा सत्ता कब्जा गर्ने तालिबानसँग वैचारिक रूपमा सम्बन्धित भए पनि पृथक रूपमा सञ्चालनमा रहेको बताइन्छ ।

पाकिस्तानी सेनाका प्रमुख प्रवक्ता अहमद सरिफ चौधरीले पत्रकार सम्मेलनमा भने, ‘विशेषगरी अफगानिस्तान सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा सन् २०२१ देखि आतङ्कवादी गतिविधि उल्लेख्य रूपमा बढेको छ ।’ उनले हालको बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्न पाकिस्तानले पछिल्ला वर्षहरूमा हजारौँ आतङ्कवाद विरोधी अपरेसन सञ्चालन गरेको जानकारी दिए ।

उनका अनुसार यस वर्ष सेप्टेम्बर १५ सम्म देशभर १० हजारभन्दा बढी अपरेसनहरू सञ्चालन गरिएका छन् । तीमध्ये ९७० जना आतङ्कवादी मारिएका छन् भने ३११ जना सैनिक र ७३ जना प्रहरी अधिकारीहरूको ज्यान गएको छ ।  

ADV

सम्बन्धित खबर

Advertise