काठमाडौंः आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले असली जेनजी आफूले नचिनेको भनेर प्रतिक्रिया दिएकोप्रति आपत्ति जनाएका छन् ।
आजपाको काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले आक्रोश पोख्दै भने, ‘त्यही जेनजीको आन्दोलनको बलमा उहाँ प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ, तर असली जेनजी अगुवा को हो ? मैले चिनेको छैन भनेर बोल्नुहुन्छ, उहाँको अभिव्यक्ति हाँस्यास्पद त हो नै, त्यो भन्दा पनि बढि आपत्तिजनक छ ।’
शुक्रबार शीतल निवासको सर्वदलीय छलफलमा प्रधानमन्त्री कार्कीले आफूले अहिलेसम्म जेनजी आन्दोलनको वास्तविक अगुवाहरु नचिनेको अभिव्यक्ति दिएकी थिइन् । यही सन्दर्भमा साहले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको चर्को आलोचना गरेका हुन् ।
साहले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीले नै रियल जेन–जी चिनेको छैन भन्नु हाँस्यास्पद हो, तपाईं कसको आन्दोलनको बलमा प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ, म सोध्न चाहन्छु । रियल जेन–जीहरु तपाईंले नचिन्ने अनि प्रधानमन्त्रीको दाबी गर्न शितलनिवास एक महिनाअघि कसरी जानुभयो ? आन्दोलन कसको थियो भन्ने थाहा थिएन र ?’ साहले वास्तविक जेनजी नचिन्ने प्रधानमन्त्री कार्कीलाई नै जनताले भोलि ‘डुप्लिकेट–प्रधानमन्त्री’को संज्ञा दिनेछन् भनेर टिप्पणी गरे ।
साहले वर्तमान सरकारले तोकिएकै मितिमा चुनाव गराउन सक्नेमा आशंकासमेत व्यक्त गरे । उनले अहिलेको सरकार वजनदार नभएको टिप्पणी गरे । प्रधानमन्त्री कार्कीले अँध्यारो कोठाबाट शासनसत्ता चलाउन सुरु गरेको उनको आरोप छ । उनले भने, ‘सुशीला सरकार वजनदार देखिएन, अँध्यारो कोठाबाट शासनसत्ता चलाउने कुरा हामीलाई अस्विकार्य छ ।’ साहले अदालतमा बेञ्च चलाएजस्तो देश चलाउन सजिलो नहुने पनि प्रधानमन्त्रीलाई सुझाए ।
मुलुक विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा प्रधानमन्त्री कार्कीले देशलाई सही निकास दिनको लागि गम्भिरता नदेखाएको उनको गुनासो छ । उनले आफूले बोलाउनुपर्ने सर्वदलीय बैठक शीतल निवासको भर परेकोमा पनि आलोचना गरे । जेनजी आन्दोलन अघि र आन्दोलन पछि पनि संघर्षको मैदानमा रहेका निर्णायक शक्तिहरुलाई सर्वदलीय बैठकमा बेवास्ता र बाईपास गरेकोमा साहको आपत्ति थियो ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामा पनि प्रश्न उठाए । चुनावको वातावरण बनाउने नाममा दलहरुलाई मात्रै रातो कार्पेट ओछ्याउने काम गरिएको र आन्दोलनको प्रमुख हिस्सा जेनजी आन्दोलनका अगुवालाई बेवास्ता गरिएकोमा साहको गम्भीर असहमति जनाए । उनले भने, ‘दलहरुसँग एकदिन र जेनजीहरुसँग अर्को दिन छलफल गरेर राष्ट्रपति रामचन्द्र पौडेलले के सन्देश दिन खोज्नुभएको हो ?’
उनले अहिलेको गृह प्रशासनको नेतृत्वको कारण सरकार असफलताको बाटोमा अघि बढेको आरोप लगाए । उनले भने, ‘जेन–जी आन्दोलनमा युवा विद्यार्थीहरुको हत्याराहरुलाई एक महिना बितिसक्दापनि कारबाही गर्न नसक्नुले सरकारको असफलता पुष्टि गरिसक्यो ।’ उनले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाए । उनले भने, ‘गृहमन्त्री नै अलमलमा देखिनुभयो, उहाँले कानूनीराज स्थापित गर्न नसक्ने हो भने बाटो लाग्दा हुन्छ ।’
जेनजी आन्दोलनपछि प्रहरीको शिर निहुरिएको साहको टिप्पणी छ । उनले आन्दोलनको नाममा सुरक्षा निकायबाट लुटिएका हातहतियार अहिलेसम्म किन फिर्ता ल्याउन नसकेको भनेर गृहमन्त्रीलाई सोधे । उनले भने, ‘लुटिएको हतियार फिर्ता गर्न महिनौं लाग्ने सरकारले फागुन २१ गते चुनाव गर्न सक्ला र ? यो सरकारको क्षमतामाथि प्रश्न उठिसक्यो ।’
साहले प्रधानमन्त्री कार्कीले महिना दिनसम्म आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रश्न उठाए । उनले भने, ‘मन्त्रिपरिषद्लाई पूर्णता दिन यत्रो समय लाग्छ त ? रक्षा र परराष्ट्र मन्त्रालयजस्तो संवेदनशील मन्त्रालय नेतृत्वविहीन बनाउँदा संशय पैदा भएको छ ।’
साहले अबको मुख्य निकासको बाटो भनेको यही व्यवस्था र यही संविधान कायम राखेर अघि बढ्दा देश झनै ठूलो भड्खालोमा जाने भन्दै अन्तरिम संविधान बनाएर जानुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको निकास अन्तरिम सरकारसँगै अब अन्तरिम संविधान हो । जनविद्रोहलाई संस्थागत गर्न एकपटक देशभक्त, न्यायप्रेमी र परिवर्तन चाहने अग्रगामी शक्तिहरुको निर्णायक संघर्ष आवश्यक छ ।’
सो क्रममा उनले आम जनता पार्टीले स्थापनाको छोटो समयमा नै श्रेष्ठता हाँसिल गरेको दाबी गरे । उनले भने, ‘हाम्रो पार्टी दुई वर्षअघि नै तेस्रो जनआन्दोलन औंल्याएर सडक संघर्षमा होमिएको थियो, त्यो जेनजी विद्रोहले हाम्रो तेस्रो जनआन्दोलनको घोषणालाई सिद्ध गरिसकेको छ । अहिले जनविद्रोहले कांग्रेस र एमालेको शासन सत्ता ढलिसकेको छ । तर, केपी ओलीको अहंकार र शेरबहादुर देउवाको दम्भ अझै ढलेको छैन । यिनीहरुले टाउको उठाउनु नेपाली जनताको टाउको दुख्नु हो ।’