–विष्णु ठकुरी राई, खर्साङ
उसको नाउँ जितेन ! सबै साथीहरू उसलाई जितु भनेर बोलाउने गर्थे । जन्म र मृत्यु के हो भन्ने विषयमा ज्ञान नहुँदा नै उसकी आमाको देहान्त भएको थियो । बाबु भएता पनि आमा नभएको टुहुरो केटा । वर्ष दिन नपुग्दै बाबुले अर्की स्वास्नी याने सानी आमा भित्राए । केही महिना सम्म त ठीकै थियो तर सानीआमाले छोरो जन्माए पछि जितुको लालनपालनमा कमी आयो । सानी आमाले अर्को सन्तान पाएपछि बाबु पनि साना बाबुको भुमिका निभाउन वाध्य भए सायद । बल्लतल्ल सात बर्षको उमेरमा गाउँ कै प्राथमिक पाठशालामा भर्ना गरिदिए । तर त्यस बेला पाठशालामा चाहिने खाता किताब पेन्सिल आदि भने मुश्किलले किनिदिन्थे बाबुले । लेख्ने पेन्सिल नहुँदा साथीहरुले उनेरले आफ्नो पेन्सिलको ठुट्टे टुक्रा दिन्थे ।
अहिले जस्तो प्राथमिक पाठशालामा सरकारी सहुलियत पाइदैँन थियो । अहिले त दिउँसोको खाना, खाता किताब, युनिफर्म, जुत्ता सबै पाउने प्रावधान छ । ।पाठशाला पछि घरमा काम पनि गर्नु पर्ने, नानी हेर्नु पर्ने, अलिकति काम बिग्रे गाली र कुटाई खाएर भोको पेट सुत्न पर्ने जितुलाई । यसरी नै दिन महिना बित्दै गए ।
जसरी तसरी जितु दोस्रो कक्षामा पुग्यो । बर्खायाममा प्रायः साथीहरू गम्बुट लाएर स्कूल आउने, कोही पानी जुत्ता तर जितुलाई एक जोडी चप्पलसम्म थिएन । सबैले गम्बुट लाएर स्कूल आउने साथीहरू देखेर उसलाई पनि गम्बुट लाउने रहर भयो । एकदिन, आफ्नो बाबुलाई गम्बुट किनि मागे । उसको बाबु कुनै एउटा फ्याक्ट्रीमा काम गर्थे । काम र जमानाअनुसारको तलबले एक जोडी गम्बुट किनिदिन सक्ने तर कान्छी स्वास्नीको डरले आफ्नो पहिलो छोराप्रति आफ्नो कर्तव्य निभाउन सकेका थिएनन् । र पनि छोरालाई यसपालिको तलब पाएपछि किनिदिने वचन दिए । त्यो दिन जितु धेरै खुशी भएको थियो । बाबुले तलब पाएपछि रातो रगंको गम्बुट किनि माग्छु भनेर मनमनै रमायो ।
आज १ तारिख बाबुले तलब पाउने दिन । भोलि त बाबुले गम्बुट किनेर ल्याउनु हुनेछ । मीठो सपना देख्यो जितुले । बिहान भान्सा घरमा बाबुले सानो आमालाई ‘आज त म जितेनलाई एक जोडी गम्बुट किनिदिन्छु’ भनेर मात्रै के भनेथ्यो सानीआमाले ठूलो स्वरमा कुन खुट्टामा लाउँछ त्यसले गम्बुट तेही खुट्टा भाँचिदिनेछु भन्दै बाबुलाई कराउन थालिन् । भान्सा घरको बाहिरी भित्तामा अडेस लागेर सुनिरहेको जितु रुँदैं भागेर बाख्राको खोर मुनी लुक्न पुग्यो । उसको गम्बुट लाउने रहर सानी आमाको कर्कश आवाजले चक्नाचूर बनायो । आँखाबाट आएको बलिन्द्रधाराले गम्बुट लगाउने रहर, एउटा बाल्यकालको मीठो सपना बगाएर लग्यो । विचरा जितु !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies