
काठमाडौँ : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी महाधिवेशनका लागि आवश्यक तयारी समिति गठन गर्ने सम्पूर्ण अधिकार महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार बसेको शीर्ष नेता, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको नेता जितजंग बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार महाधिवेशन सञ्चालनका लागि व्यवस्थापन, स्वयंसेवक परिचालन र मञ्च व्यवस्थापनलगायत १५ देखि २० वटा समिति आवश्यक पर्ने भएकाले ती सबै समिति गठन गर्ने जिम्मेवारी कोइरालालाई दिइएको हो ।
बिहीबारसम्म समितिका संयोजक तोक्ने र त्यसपछि सम्बन्धित संयोजकले सदस्य चयन गरी महाधिवेशनको तयारी अघि बढाउने उनले बताएका छन् । बस्नेतले आफ्नो समूह नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आफूहरूमाथि अनुशासनको कारबाही गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
बैठकपछि नेता कुन्दनराज काफ्लेले पनि रुख चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेको आफूलाई कांग्रेस होइन भनेर कारबाही गर्न नसकिने जिकिर गरेका छन् ।
पार्टीभित्र दुईवटा महाधिवेशन भइरहेको सन्दर्भ उल्लेख गर्दै काफ्लेले विशेष महाधिवेशन गर्ने पक्षले नै विवाद समाधानका लागि छलफलको नेतृत्व गर्नुपर्ने धारणा राखेका छन् । देउवा समूहले नियमित १५औँ महाधिवेशन भन्दै आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ ।