२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

रुस–युक्रेन युद्ध : वार्ताको तयारीसँगै आक्रमण, युद्धविराम होला ?

Nada
२०८३ कार्तिक ५ गते ११:२९
Shares
रुस–युक्रेन युद्ध : वार्ताको तयारीसँगै आक्रमण, युद्धविराम होला ?

काठमाडौं : युक्रेनको राजधानी किभमा रातभर विस्फोटका आवाज सुनिए । आवासीय भवनमा ड्रोन खसे, ऊर्जा केन्द्रहरू निशानामा परे र सर्वसाधारणको ज्यान गयो ।

ncell

युद्ध अन्त्यका लागि कूटनीतिक पहल भइरहेका बेला अक्टोबर २१ को रात भएका रुसी आक्रमणमा युक्रेनी अधिकारीका अनुसार पाँच जनाको मृत्यु भयो भने कम्तीमा २३ जना घाइते भए ।

राजधानी किभ र उत्तरपूर्वी खार्किभ क्षेत्रमा मात्रै मानवीय क्षति भएको थिएन, ऊर्जा पूर्वाधारमा भएका आक्रमणले आउँदो जाडोमा सर्वसाधारणको जीवन थप कठिन बन्ने चिन्ता पनि बढाएको छ । विडम्बना, आक्रमण भइरहेकै बेला युद्ध रोक्ने अर्को प्रयास अघि बढिरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी विशेष दूत स्टिभ विटकफसँगको भेटपछि आगामी नोभेम्बरमा अमेरिका र युक्रेनसँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि वार्तालाई समर्थन गरेका छन् । एसोसिएटेड प्रेस (एपी) र रोयटर्सका अनुसार अक्टोबर २१ मा रुसको सेन्ट पिटर्सबर्गमा भएको करिब तीन घण्टाको भेटमा युद्ध अन्त्य गर्ने प्रस्ताव र युद्धपछिको सुरक्षा व्यवस्थाबारे छलफल भएको थियो ।

तर वार्ताको ढोका खुल्नु र युद्ध रोकिनु एउटै होइन । चार वर्षभन्दा लामो समयदेखि जारी युद्धमा हजारौँ परिवारले आफन्त गुमाएका छन्, लाखौँ मानिस घर छाड्न बाध्य भएका छन् र सहरका सहर भग्नावशेषमा परिणत भएका छन् ।

कहिले रोकिन्छ युद्ध ? 

रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि व्यापक सैन्य आक्रमण सुरु गरेको थियो । त्यसअघि नै दुई देशबीच तनाव चुलिएको थियो । सन् २०१४ मा रुसले क्राइमिया आफ्नो नियन्त्रणमा लिएपछि पूर्वी युक्रेनको डोनबास क्षेत्रमा पनि लडाइँ सुरु भएको थियो । युक्रेनले युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सँग सम्बन्ध विस्तार गर्ने प्रयास गरिरहेको थियो । रुसले युक्रेनको नेटोतर्फको झुकावलाई आफ्नो सुरक्षाका लागि खतरा ठान्दै आएको थियो ।

युक्रेनले भने आफ्नो सुरक्षा र विदेश नीति आफैँले तय गर्न पाउनुपर्ने अडान राख्यो । यही तनावले अन्ततः ठूलो युद्धको रूप लियो । रुसले आफ्नो सुरक्षा चासोलाई आक्रमणको औचित्यका रूपमा प्रस्तुत गरे पनि युक्रेन र उसका पश्चिमी साझेदारले यसलाई सार्वभौम राष्ट्रमाथिको आक्रमण तथा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मानेका छन् ।

संयुक्त राष्ट्रसंघले पनि युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने अडान राख्दै आएको छ ।

शान्तिको बाटोमा तगारो

युद्ध अन्त्य गर्ने प्रयास यसअघि पनि भएका थिए । सन् २०२२ मा टर्कीको इस्तानबुललगायत विभिन्न स्थानमा वार्ता भए । त्यसपछि पनि कैदी साटासाट, खाद्यान्न ढुवानी र सीमित मानवीय सहकार्यका विषयमा सहमति बने । तर स्थायी शान्ति सम्झौता हुन सकेन ।

सन् २०२६ को सुरुआतमा पनि अमेरिका, रुस र युक्रेनबीच विभिन्न चरणमा वार्ता भएका थिए । जनवरी र फेब्रुअरीमा अबुधाबी तथा फेब्रुअरीमा जेनेभामा भएका छलफलले कैदी साटासाटबाहेक ठोस प्रगति गर्न सकेनन् । भूभाग र सुरक्षा व्यवस्थासम्बन्धी विवाद मुख्य अवरोध बने । अहिलेको वार्तामा पनि यही चुनौती छ । रुसले कब्जामा लिएका क्षेत्र र आफ्नो सुरक्षा चासोलाई महत्त्व दिएको छ । युक्रेनले भने आफ्नो भूभाग नछाड्ने र भविष्यमा फेरि आक्रमण नहुने विश्वसनीय सुरक्षा प्रत्याभूति चाहेको छ ।

अक्टोबर २१ मा अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा जेलेन्स्कीले हालको अग्रपङ्क्तिमा युद्ध रोक्ने प्रस्तावलाई शान्तितर्फको सम्भावित बाटोका रूपमा स्वीकार गर्न सकिने बताएका छन् । तर उनले युक्रेनको भूभाग औपचारिक रूपमा त्याग्ने विषय अस्वीकार गरेका छन् ।

युद्धविरामपछि अमेरिका र युरोपबाट बलियो सुरक्षा प्रत्याभूति आवश्यक पर्ने उनको भनाइ छ । रोयटर्सका अनुसार अमेरिकी विशेष दूत विटकफले यसअघि नर्वेको ओस्लोमा जेलेन्स्की र युरोपेली नेताहरूसँग छलफल गरेका थिए । त्यसमा युक्रेनको सुरक्षा, युद्धपछिको आर्थिक पुनर्निर्माण र युरोपको समग्र सुरक्षा संरचनाबारे विचार आदानप्रदान भएको थियो । तर प्रस्तावित वार्ता सफल हुन दुवै पक्षले आफ्नो अडानमा कति लचकता देखाउँछन् भन्ने महत्त्वपूर्ण हुनेछ । युद्धविरामको अनुगमन कसले गर्ने, कब्जामा रहेका क्षेत्रको भविष्य के हुने र सम्झौता उल्लङ्घन भए के गर्ने भन्ने प्रश्नको उत्तर नदिई स्थायी शान्ति सम्भव देखिँदैन ।

अरबौँ डलर बराबर क्षति

युद्धको मूल्य केवल युद्धभूमिमा खसेका सैनिक र सर्वसाधारणको जीवनमा सीमित छैन । घर, विद्यालय, अस्पताल, सडक, पुल, विद्युत् केन्द्र र उद्योगमा भएको क्षतिले युक्रेनको अर्थतन्त्रलाई दशकौँसम्म असर पार्न सक्छ । संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपेली संघ र युक्रेन सरकारले सन् २०२६ फेब्रुअरीमा सार्वजनिक गरेको संयुक्त मूल्याङ्कनअनुसार सन् २०२५ को अन्त्यसम्म युक्रेनको प्रत्यक्ष भौतिक क्षति १९५ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको थियो ।

युद्धका कारण भएको व्यापक आर्थिक तथा सामाजिक नोक्सानी ६६६ अर्ब डलरभन्दा बढी अनुमान गरिएको छ । आगामी १० वर्षमा पुनर्निर्माण र पुनःस्थापनाका लागि करिब ५८८ अर्ब डलर आवश्यक पर्ने आकलन छ । प्रतिवेदनअनुसार युक्रेनका करिब १४ प्रतिशत आवासीय संरचना क्षतिग्रस्त वा नष्ट भएका छन् । यसबाट ३० लाखभन्दा बढी परिवार प्रभावित भएका छन् । ऊर्जा, यातायात र आवास क्षेत्र सबैभन्दा बढी प्रभावितमध्ये छन् । मानवीय क्षतिको पूर्ण विवरण भने अझै स्पष्ट छैन ।

संयुक्त राष्ट्रसंघले पुष्टि गरेका नागरिक हताहतीका तथ्यांकसमेत वास्तविक संख्याभन्दा कम हुन सक्ने बताउँदै आएको छ । दुवै पक्षका सैनिक मृत्यु र घाइतेको कुल संख्या पनि स्वतन्त्र रूपमा यकिन गर्न कठिन छ ।

युक्रेन बाहिर युद्धको असर

रुस-युक्रेन युद्धको असर ती देशमा मात्र सीमित छैन। युद्धले युरोपको ऊर्जा सुरक्षा र विश्व बजारलाई प्रभावित पारेको छ । रुस र युक्रेन विश्वका महत्त्वपूर्ण कृषि तथा खाद्यान्न आपूर्तिकर्ता हुन् । युद्धका कारण ढुवानीमा अवरोध, ऊर्जा आपूर्तिमा अनिश्चितता र मल तथा खाद्यान्नको मूल्यमा उतारचढाव आएको छ । यसको असर आयातमा निर्भर र न्यून आय भएका देशले पनि भोग्नुपरेको छ । लाखौँ युक्रेनी नागरिक देशभित्रै विस्थापित भएका छन् भने ठूलो संख्यामा मानिस विदेशमा शरण लिएर बसेका छन् । घर फर्कने, परिवार पुनर्मिलन गर्ने र गुमेको रोजगारी तथा शिक्षा पुनः प्राप्त गर्ने चुनौती युद्ध रोकिएपछि पनि रहिरहनेछ ।

वार्ता सफल होला ? 

नोभेम्बरमा प्रस्तावित त्रिपक्षीय वार्ताले युद्ध अन्त्यको सम्भावना पुनः जगाएको छ । तर वार्ताको घोषणा आफैँमा शान्तिको प्रमाण होइन । रुस र युक्रेनबीचको आधारभूत मतभेद समाधान हुनुपर्छ । अमेरिकाले दुवै पक्षलाई एउटै सहमतिमा ल्याउन सक्नुपर्छ र युरोपको सुरक्षा चासोलाई पनि बेवास्ता गर्न मिल्दैन । चार वर्षको युद्धले एउटा कठोर सत्य देखाएको छ—युद्ध सुरु गर्नुभन्दा त्यसलाई अन्त्य गर्न धेरै कठिन हुन्छ । राजनीतिक नेतृत्वका अडान, भूभागको विवाद र सुरक्षा प्रतिस्पर्धाबीच सर्वसाधारणको जीवन सबैभन्दा ठूलो मूल्य चुकाउने अवस्थामा छ ।

किभमा विस्फोटका आवाज सुनिँदै गर्दा शान्तिको वार्ता अघि बढ्नु यही युद्धको विरोधाभास हो । अब प्रश्न वार्ताको टेबलमा को बस्छ भन्ने मात्र होइन, त्यहाँ बसेका पक्षहरू युद्ध रोक्न कति गम्भीर छन् भन्ने हो । युक्रेनका नागरिकका लागि शान्ति कूटनीतिक सफलता वा राजनीतिक सम्झौता मात्र हुने छैन। यो उनीहरूका लागि आफ्नो घरमा सुरक्षित फर्कन पाउने, परिवारसँग पुनः बस्न पाउने र आक्रमणको डरबिना निदाउन पाउने आशासंग जोडिएको छ । त्यसैले ब्यग्र प्रतीक्षा भइरहेको छ।

- एजेन्सीहरूको सहयोगमा

uae

ताजा खबर

सम्बन्धित खबर