
कोलम्बो : दक्षिण एसियामा चक्रीय अर्थतन्त्रको विकास र क्षेत्रीय सहकार्य विस्तार गर्ने उद्देश्यले श्रीलंकाको कोलम्बोमा आयोजित क्षेत्रीय मञ्चले साझा कार्यसूचीलाई अघि बढाएको छ।
असोज २९ र ३० गते आयोजित ‘दक्षिण एसियामा चक्रीय अर्थतन्त्रसम्बन्धी क्षेत्रीय रूपरेखा तथा कार्ययोजना’ विषयक मञ्चमा सरकारी निकाय, निजी क्षेत्र, उद्योग, विज्ञ तथा विकास साझेदारका प्रतिनिधिहरू सहभागी भएका थिए। मञ्चमा चक्रीय अर्थतन्त्रको प्रवर्धनका लागि आवश्यक नीतिगत सुधार, व्यावहारिक उपाय र क्षेत्रीय साझेदारीका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा उत्पादन तथा उपभोग प्रणालीलाई दिगो बनाउने, उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्ने र पुनःप्रयोग तथा पुनर्चक्रणलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकता दिइएको थियो। साथै, वातावरणीय चुनौतीलाई आर्थिक अवसरमा रूपान्तरण गर्न क्षेत्रीय स्तरमा सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
चक्रीय अर्थतन्त्र फोहोर व्यवस्थापन र पुनर्चक्रणमा मात्र सीमित नभई उत्पादनको डिजाइनदेखि सामग्रीको पुनःप्रयोग, प्राकृतिक स्रोतको संरक्षण र उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिसम्म विस्तारित अवधारणा हो। यसले नयाँ लगानी र रोजगारीका अवसर सिर्जना गर्नसमेत योगदान पुर्याउन सक्ने मञ्चमा प्रस्तुत अवधारणाले देखाएको छ।
दक्षिण एसियाली देशहरूबीच नीतिगत समन्वय, प्रविधिको आदानप्रदान र निजी क्षेत्रको सहभागिता बढाउन सके चक्रीय अर्थतन्त्रलाई क्षेत्रीय आर्थिक विकासको महत्त्वपूर्ण आधार बनाउन सकिने सहभागीहरूको धारणा थियो।
मञ्चमा अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्दै दक्षिण एसियाको आवश्यकता र सम्भावनाअनुसार क्षेत्रीय रूपरेखा तयार गर्ने विषयमा पनि छलफल भएको थियो। त्यसैगरी, सन् २०२६ देखि २०३० सम्मका लागि प्रस्तावित कार्ययोजनालाई अघि बढाउने विषयले समेत प्राथमिकता पाएको थियो।
प्रस्तावित कार्ययोजनाले दिगो उत्पादन तथा उपभोग, स्रोतको कुशल उपयोग, वातावरणीय जिम्मेवारी, लगानी विस्तार र समावेशी आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेको छ।
मञ्चले दक्षिण एसियाली देशहरूबीच सहकार्य विस्तार गर्दै चक्रीय अर्थतन्त्रलाई वातावरण संरक्षणसँगै औद्योगिक विकास, उद्यमशीलता र रोजगारी सिर्जनाको अवसरका रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।