२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

मुख्यमन्त्री लामाको शपथ ग्रहण आज, कांग्रेसलाई ७, एमालेलाई ६ मन्त्रालय

ADV
राजकुमार के.सी.
२०८१ साउन ९ गते ०६:५०
मुख्यमन्त्री लामाको शपथ ग्रहण आज, कांग्रेसलाई ७, एमालेलाई ६ मन्त्रालय

मकवानपुर : बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए ।

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मंगलबार साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार नै मुख्यमन्त्री लामाले कांग्रेसबाट सात र एमालेका छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी रहेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताए ।

बागमती प्रदेशमा लामा कांग्रेसको तर्फबाट पहिलो र बागमती प्रदेशको पाचौं मुख्यमन्त्री हुन् । गत संसदीय निर्वचनमा नुवाकोट क्षेत्र नं. २ (ख)बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित लामा तामाङ समुदायबाट मुख्यमन्त्री पदमा नियुक्त हुने पहिलो ब्यक्ति समेत हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामा नियुक्त भएसँगै यी दुई दलबीच मन्त्रालय बाँडफाँटको समेत सहमति भएको छ । 

मंगलबार भएको सहमतिअनुसार नेपाली कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिनेछ । 

त्यस्तै नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय लिनेछ ।

बागमती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसका ३७ सांसद छन् भने एमालेका २७ जना रहेका छन् । माओवादी केन्द्रका २१ जना रहेका छन् । राप्रपाका १३ जना छन भने एकीकृत समाजवादीका ७ जना रहेका छन् । माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी प्रतिपक्षमा छन् । 

११० सदस्यीय बागमती प्रदेशमा कांग्रेस र एमाले मिल्दा बलियो सरकार बनेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise