२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

कलेजो प्रत्यारोपण : पुरुष लिन्छन्, महिला दिन्छन्

draupadi film
मध्यान्ह
२०८१ साउन ९ गते १५:१६
कलेजो प्रत्यारोपण : पुरुष लिन्छन्, महिला दिन्छन्

रमेश गिरी
भक्तपुर : विश्वमा कठिन मानिएको कलेजो प्रत्यारोपणमा नेपालले सफलता हासिल गर्दै गएको छ । नेपालमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विसं २०७३ मङ्सिर २२ गते भक्तपुरका बलराम नागाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको थियो । नागालाई उनकी दिदी सानुमाया लागेजुले कलेजो दान गरेकी थिइन्  ।

आर्थिक वर्ष २०८०/८१ मा मात्रै शतप्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ । हालसम्म सबै कलेजो प्रत्यारोपित तथा कलेजो दाता सकुशल रहेका केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । 

“केन्द्रमा बिरामीको बिग्रेको कलेजो पूरै हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पूरै कलेजो प्रत्यारोपण गर्ने गरिएको छ”, उनले भने, “तीन वर्षको बालकदेखि ६८ वर्षका ज्येष्ठ नागरिकसम्मको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौँ ।”

विसं २०७३ मा दक्षिण कोरियाको सामसुङ् मेडिकल सेन्टरको प्राविधिक सहयोगमा मुलुकमा पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सन् २०१९ मा डा श्रेष्ठको नेतृत्वमा नेपाली चिकित्सकको टोलीबाट पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । पछिल्लो समय एकजना मात्र विदेशी चिकित्सकको उपस्थितिमा केन्द्रको प्रत्यारोपण टोलीले कलेजो प्रत्यारोपण गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

बिरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त सङ्ख्यामा नियमित नहुँदासम्म जुनसुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु सकारात्मक हुने डा श्रेष्ठको भनाइ छ । केन्द्रले हालसम्म २६ जनाको कलेजो प्रत्यारोपण गरिसकेको जनाउँदै उनले लिने पुरुष र दिने महिला धेरै रहेको बताए । 

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले भने, “प्रत्यारोपण सुरु भएदेखि हालसम्म २४ जना ग्रहणकर्ता पुरुष र दुई जना महिला छन् । प्रत्यारोपण गरेका २६ जनामध्ये १८ पुरुषलाई महिला दाताले कलेजो दान गरेका छन् । आठ दाता मात्रै पुरुष छन् । यो तथ्यांकलाई हेर्दा पुरुषले लिएको र महिलाले दिएको अवस्था छ ।”

विदेशमा ५०औँ लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले न्युनतम रु १५ देखि बढीमा रु २० लाखसम्ममा गर्दै आएको श्रेष्ठले जानकारी दिए ।  

“प्रत्यारोपणका लागि ६५ वर्षभन्दा बढी उमेरका मानिसले समेत आफू भन्दा सानालाई स्वस्थ्य कलेजो दान गर्न सक्ने र साना बालबालिकाले पनि वयष्कलाई तथा वयष्यले बालबालिकालाई सजिलै कलेजो दान गर्न सक्ने”, उनले भने  ।  
    
कलेजो दान दिनेले तीन चरणको जाँच पास गर्नुपर्ने हुन्छ । जसमा कुनै सङ्क्रमण भए-नभएको, स्वास्थ्यमा कुनै जटिल समस्या भए-नभएको र मधुमेह वा अन्य कुनै समस्याका कारण कलेजोमा बोसो जमे-नजमेको भन्नेबारेमा ध्यान दिनु जरुरी रहेको डा श्रेष्ठले बताए । 

उनका अनुसार कलेजोमा धेरै बोसो जमेको छैन भने त्यसको केही भाग बिरामीको कलेजोलाई फालेर त्यसको ठाउँमा स्वस्थ्य मानिसको कलेजो प्रत्यारोपण गर्न सकिन्छ । यसरी कलेजो दान गर्दा खासै जटिलता उत्पन्न हुदैन । कलेजोमा ६० प्रतिशत भन्दा बोसो जमेको बाहेक अन्यले सजिलै दान दिन सक्नेछन् ।

कलेजो आफैँ विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि बिरामीको शरीरमा विकसित हुँदै जाने भन्दै करिब छ महिनामा झण्डै ९० प्रतिशत विकास हुने उनले जानकारी दिए । कलेजो प्रत्यारोपण गरिएका बिरामीले पुनः पहिलाको जस्तै जीवन जीउनसक्ने उनले बताए ।

नेपालमा झण्डै ६० प्रतिशतको कलेजो रक्सी तथा हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बिग्रने गरेको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । विश्वमा धनी देशमा हेपाटाइटिस सी तथा मधुमेहका कारण कलेजोमा बोसो जमेर बिग्रने गरेको पाइएको उनको भनाइ छ ।

नेपालमा हरेक वर्ष करिब एक हजारको कलेजो बिग्रने गरेको छभने भारतमा गएर कलेजो प्रत्यारोपण गर्नेको सङ्ख्या पनि पछिल्लो समय बढ्दै गएको केन्द्रले जनाएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise