
रौतहट : देवाही गोनाही नगरपालिकाले 'हाम्रो सुन्दर, शान्त र सफा नगर' निर्माण गर्ने लक्ष्यसहित ११औं नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । नगर प्रमुख प्रेमलाल साहले बजेट प्रस्तुत गर्दै विकासलाई तीव्र बनाउने तथा सुशासनका आधारमा सेवा प्रवाह सुधारिने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख साहका अनुसार नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र आर्थिक क्षेत्रका अपूरा योजनाहरूलाई निरन्तरता दिँदै दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमलाई अग्रता दिनेछ । सेवा प्रवाहलाई प्रभावकारी बनाउने र जनउत्तरदायी कार्यशैली मार्फत सुशासन सुनिश्चित गर्ने लक्ष्य बजेटमा समेटिएको छ ।
बजेटले पछिल्ला वर्षमा देखिएको सुस्त विकास दर हटाउँदै सामाजिक न्यायसहित तीव्र पूर्वाधार विकासलाई मुख्य दिशानिर्देश बनाएको नगरप्रमुखले बताए ।
आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकाले रु. ५३ करोड १६ लाख ३२ हजार ६ सय ७६ को कुल बजेट सार्वजनिक गरेको छ । बजेटको मुख्य आधार संघीय तथा प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँड, आन्तरिक स्रोत र मौज्दात रहेका छन् ।
संघीय सरकारबाट कुल रु. ३६ करोड ६९ लाख बराबरको अनुदान प्राप्त हुने अनुमान गरिएको छ । यसमा रु. ९ करोड ८० लाख बराबरको संघीय वित्तीय समानीकरण अनुदान, रु. १६ करोड ७३ लाख बराबरको संघीय सशर्त चालु अनुदान, रु. ९ करोड ७ लाख को संघीय सशर्त पुँजीगत अनुदान, रु. १ करोड ९ लाख बराबरको संघीय समपूरक अनुदानतथा रु. ९ करोड ७६ लाख २९ हजार ६ सय ७६ बराबरको संघीय राजस्व बाँडफाँड समावेश छन् ।
प्रदेश सरकारबाट कुल रु. १ करोड १७ लाख ६ हजार बराबरको अनुदान प्राप्त हुने छ । यसमा रु. ६७ लाख ६ हजार को समानीकरण अनुदान, रु. ३० लाख को विशेष अनुदान, रु. २० लाख को समपूरक अनुदान र रु. ५० लाख बराबरको प्रदेश राजस्व बाँडफाँड (अनुमानित) समावेश छन् ।
नगरपालिकाले आन्तरिक राजस्वबाट रु. १ करोड १३ लाख संकलन हुने अपेक्षा गरेको छ । त्यस्तै मौज्दातको रूपमा रु. ३ करोड ९१ लाख रहेको जानकारी नगरसभामा प्रस्तुत गरिएको छ ।
बजेटले बेरोजगार युवाका लागि रोजगारी सिर्जना गर्न लक्ष्यित कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । साथै शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा लगानी बढाउँदै आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासमार्फत नगरको समग्र आर्थिक वृद्धि गति दिने योजना रहेको छ ।
नगरसभाबाट पारित बजेट र कार्यक्रमले देवाही गोनाही नगरपालिकाको चौतर्फी विकास र समृद्धिको आधार निर्माण गर्ने स्थानीयवासीले विश्वास व्यक्त गरेका छन् ।