
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सिसिआइ) को पर्यटन समिति संयोजकमा नियुक्त भएका छन् ।
माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समिति बैठकले ढकाललाई उक्त जिम्मेवारी दिएको हो ।
नेपालका सातै प्रदेशमा पर्यटन पूर्वाधार विकासमा लगानी गर्दै आएका ढकाल चन्द्रागिरि हिल्सलगायतका पर्यटन परियोजनाका विकासकर्ता तथा होटल ब्रान्ड ‘इला’का लगानीकर्ता हुन् ।
नवनियुक्त संयोजक ढकालले दक्षिण एसियाको भौगोलिक तथा सांस्कृतिक विविधतालाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । त्यसका लागि पर्यटन पूर्वाधारमा लगानी विस्तार, क्षेत्रीय हवाई तथा स्थल यातायात सम्पर्क र होटल तथा आतिथ्य सत्कार क्षेत्रमा सीमापार लगानी आवश्यक रहेको उनको भनाइ छ ।
उनले क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘ट्राभल विदिन सार्क’ अभियान सञ्चालन गरी सदस्य राष्ट्रका पर्यटकीय गन्तव्य समेटिएका साझा पर्यटन सर्किट तथा प्याकेज निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै, सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउँदै प्रमुख सहरहरूबीच प्रत्यक्ष हवाई तथा स्थलमार्ग विस्तार गर्नुपर्ने उनले बताएका छन् । सार्क चेम्बरले नीतिगत समन्वय र व्यावसायिक साझेदारीमार्फत क्षेत्रीय पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।