२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

स्वास्थ्य सेवालाई प्राथमिकता दिन सुझाव

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ मंसिर ११ गते २१:००
Shares
स्वास्थ्य सेवालाई प्राथमिकता दिन सुझाव

अर्घाखाँची : जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा विशेष पोषण अभियानअन्तर्गत विद्यालय पोषण कार्यक्रम समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

आर्थिक वर्ष २०८१/०८२ मा अर्घाखाँचीका ६ वटा स्थानीय तहले सम्पादन गरेका स्वास्थ्य सेवासम्बन्धी पोषण तथा विद्यालय पोषण कार्यक्रमहरूको अवस्थाबारे कार्यक्रममार्फत विस्तृत समीक्षा गरिएको हो । 

कार्यक्रममा स्वास्थ्य संस्थाहरूका वार्षिक कार्यक्रमको स्वमूल्यांकन, स्वास्थ्य सेवा प्रवाह गर्दा देखिएका समस्या तथा समाधानका उपाय, स्वास्थ्य सेवा सुधार तथा तथ्यांक गुणस्तर अभिवृद्धिका आवश्यक पक्षहरूबारे गहन छलफल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक मार्गनिर्देशन र आगामी कार्ययोजना निर्माणमा समेत सरोकारवालाबीच विस्तृत अन्तरक्रिया भएको थियो । 

विगतको तुलनामा स्वास्थ्य सेवा प्रवाहको अवस्था सुधारउन्मुख रहेको भएपनि स्वास्थ्यकर्मीहरूले राम्रो वातावरण नबनेको गुनासो कार्यक्रममार्फत राखेका थिए । 

समापन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले समीक्षा कार्यक्रमले विगतका कमीकमजोरी पहिचान गर्दै सेवालाई थप सुदृढ बनाउने अपेक्षा व्यक्त गरे । 

उनले स्वास्थ्य नै नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले यसलाई नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्न सबै तह–तप्काका सकारात्मक सोच र कार्य आवश्यक रहेको उल्लेख गरे । साथै स्थानीय तहहरूलाई स्वास्थ्य सेवामा बजेट विनियोजन गरी प्राथमिकताका साथ कार्यक्रम प्रभावकारी बनाउन सुझाव दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पोख्रेलले स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले सत्यतथ्यसहितको तथ्यांक सार्वजनिक गर्न सके स्वास्थ्य विकास सूचकमा ठुलो योगदान पुग्ने बताए । मिथ्या तथ्यांकले व्यक्तिगत तथा संस्थागत दुवै क्षेत्रमा नकारात्मक असर पार्ने हुँदा पारदर्शिता महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

उनले जोखिमयुक्त क्षेत्रमै रहेर निरन्तर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी धन्यवादका पात्र भएको बताए । साथै स्थानीय जनप्रतिनिधि, नागरिक समाज, प्रशासन तथा राजनीतिक दलहरूको सकारात्मक सहयोगबिना स्वास्थ्य सेवा प्रवाहमा सुधार सम्भव नरहेको बताउँदै समन्वय र सहकार्य निरन्तर रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुली, शितगंगाका दामोदर ढकाल, भूमिकास्थानका सुरेश गैरे, छत्रदेवका बुद्धराज न्यौपाने, पाणिनिका रामप्रसाद घिमिरे, मालारानीका भविश्वर खनाललगायतले आफ्ना प्रस्तुतिहरू राखेका थिए ।

सम्बन्धित खबर