
पर्सा : पर्साको धोबिनी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा औषधी अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् । धोबिनी वडा नम्बर–१ घोडदौरा, वडा नम्बर–२ को प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुर, वडा नम्बर–३ को हरिपुर स्वास्थ्य चौकी, वडा नम्बर–४ को लङ्गडी र वडा नम्बर–५ को धोबिनीका स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा बिरामी मर्कामा परेका हुन् ।
प्रसूतिका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधी अभाव हुँदा लङ्गडी र प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरका बर्थिङ सेन्टर बन्द भएको स्वास्थ्यकर्मीले बताए । सेन्टरमा साबुनसमेत नरहेको स्वास्थ्यकर्मी बताउँछन् ।
स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा बिरामीहरू उपचारबिनै घर फर्किने गरेका छन् । सरकारले तोकेको मापदण्ड अनुसार स्वास्थ्य संस्थाहरूमा ९८ प्रकारका औषधी खरिद गरि निःशुल्क विवरण गरिन्छ । तर, यी स्वास्थ्य संस्थाहरूमा भने निःशुल्क पाइने औषधीसमेत अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा औषधी खरिद गरिएको थियो । यस वर्षको आर्थिक वर्षमा भने पालिका प्रमुखको लेनदेन नमिलेपछि औषधी खरिद नभएको स्थानीयको आरोप छ ।
कमिशनको चलखेलका कारण ५० लाख बराबरको औषधी खरिद भएपनि छिट्टै सकिने गरेको छ । ‘स्वास्थ्य चौकी लङ्गडीका प्रमुख जयन्त यादवका अनुसार गत वर्ष खरिद गरेको औषधी सकिएको छ, स्वास्थ्य प्रमुखसँग औषधीको लिखित सूची माग गर्दा अहिलेसम्म उपलब्ध गराएका छैनन्’उनले भने, ‘स्वास्थ्य संस्थामा बिरामीको चेकजाँच पश्चात् औषधी नपाउँदा बिरामी दुखेसो पोख्छन् ।’
यी स्वास्थ्य संस्थाहरूमा गत असोजयता औषधी उपलब्ध छैन । स्वास्थ्य संस्थाका प्रमुखहरूले औषधिका लागि लिखित रूपमै माग गर्दा पनि सम्बन्धित निकायले नसुनेको उनीहरूको गुनासो छ ।
चिसो मौसम सुरु भएसँगै बिरामीको चाप बढेको छ । रुघाखोकी, ज्वरो र झाडापखालाका बिरामी ह्वात्तै बढेका छन् । स्वास्थ्य संस्थामा भने सिटामोल, जीवनजल समेत नपाएपछि उनीहरू रित्तो हात फर्किने गरेका छन् ।
स्वास्थ्य संस्थाहरूमा औषधी अभावबारे गाउँपालिकाका स्वास्थ्य संयोजक केविन्द्रकिशोर यादवले स्वास्थ्य संस्थाहरूबाट औषधी मागबारे गाउँपालिकालाई जानकारी गराए पनि अहिलेसम्म खरिद नभएको बताए ।
स्टोरमा उपलब्ध केही औषधी वितरण गरिएको उनले बताए । यादवले अहिलेसम्म खरिद नभएकै कारण समस्या भएको हो । औषधी अभावबारे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले औषधी खरिद प्रक्रिया सुरु भइसकेको र छिट्टै खरिद गरेर स्वास्थ्य संस्थामा पठाइने बताए ।