
दाङ : अर्घाखाँचीको सन्धिखर्कबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका जोड्ने गच्छे–भालुवाङ सडकको काम द्रुतगतिमा अगाडि बढाइएको छ । २०५६ सालदेखि सुस्त गतिमा काम सुरु भएको यो सडक लुम्बिनी प्रदेशको राजधानी दाङ भएपछि तिव्रगतिमा अगाडि बढेको हो ।
गच्छे–भालुवाङ सडक खण्डको टोड्केदेखि लामातालसम्मको २९ किलोमिटर सडकमा ग्राभेल र संरचनाको काम पूरा गरिएपनि कालोपत्रे गर्ने काम बाँकी छ ।
‘बजेट अनुसार काम धमाधम भएको छ,’सडक पूर्वाधार विकास कार्यालयका प्रमुख गोपी पुन मगरले भने,‘ग्राभेल र स्ट्रक्चरको काम पूरा भएको छ । अहिले गच्छेबाट झन्डै ६ किलोमिटर सडक कालोपत्रे हुँदैछ भने थप नौ किलोमिटर कालोपत्रे गर्न खनाल ब्रदर्ससँग सम्झौता भइसकेको छ । यो सडक सरदर ७ मिटर चौडा बनाइिएको छ ।’
शितगंगा नगरपालिकाको लामातालबाट राप्ती किनार हुँदै बढीदमार–प्युठानको चैते–रामपुर हुदै मुख्य सडकमा जोडिएर दाङको भालुवाङसम्म पुग्ने यो सडक सञ्चालनमा आएपछि अर्घाखाँची र प्रदेश राजधानीबीचको दुरी निकै छोटिनेछ । बजेट अनुसार काम अघि बढेमा गच्छे–भालुवाङ सडक निर्माण पुरा हुन अझै केही वर्ष लाग्न सक्ने प्रमुख पुन मगरले जानकारी दिए ।
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा पटक–पटक थप बजेट माग गर्दै कामलाई निरन्तरता दिइएको प्रमुख पुन मगरले बताए । अहिले गच्छेदेखि धनचौरसम्म विभिन्न स्थानमा काम भइरहेको छ ।
‘यो सडकलाई पहिले अर्घाखाँचीलाई दाङको भालुवाङ जोड्ने भनेर थोरै बजेटमै २४ वर्षदेखि काम भइरहेको रहेछ,’पुन मगरले भने,‘अहिले सरकारले यसलाई विशेष प्राथमिकतामा राखेको छ ।’
भालुवाङदेखि ५ किलोमिटर टाढा देउखुरीमा स्थायी राजधानी तोकिएर प्रदेशका प्रशासनिक कार्यालय सरेपछि यो सडकलाई राजधानीसँग जोड्ने महत्वपूर्ण मार्गको रूपमा अर्थ दिइएको वरिष्ठ निर्माण व्यवसायी खनाल ब्रदर्सका सञ्चालक कबिराम खनाल बताउँछन् ।
‘गच्छे–भालुवाङ सडक अर्घाखाँचीका लागि दूरगामी महत्वको सडक हो,’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मध्यान्हसँग भने, ‘सडक सम्पन्न भएपछि अर्घाखाँची, पाल्पा र गुल्मीका नागरिकलाई प्रदेश राजधानी आउजाउ गर्न सहज हुन्छ । स्थानीय आर्थिक समृद्धिमा टेवा पुर्याउने, चिया–खाजा पसल, रिसोर्ट र कृषि उत्पादनमा समेत बजार विस्तार हुने अपेक्षा गरिएको छ ।’
अहिले अर्घाखाँचीबाट भालुवाङ आउन–जान सन्धिखर्क–गोरुसिंगे सडक हुँदै पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्नुपर्छ । सन्धिखर्क–गोरुसिंगे–भालुवाङ १ सय २४ किलोमिटर पर्दछ, तर सन्धिखर्कबाट गच्छे हुँदै भालुवाङको दुरी ६४ किलोमिटर मात्रै हुनेछ ।
यो सडक पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । शितगंगा नगरपालिका–८ र ९, दाङको राप्ती गाउँपालिकाका नौ वटै वडा, गढवा गाउँपालिकाका वडा १, २ र ३ लाई जोडेर राप्ती उपत्यका बनेपछि गच्छे–भालुवाङ सडकको महत्व झनै बढेको अध्यक्ष आचार्य बताउँछन् ।
शितगंगा नगरपालिकाको वडा नं. ७ मा निर्माणाधीन २ सय ८१ मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय आयोजना पनि यहि सडकको बीचमा पर्दछ, जसले सडकको सम्भावना झन् बढाएको छ ।
धार्मिक, पर्यटकीय र व्यापारिक क्षेत्रको विकाससहित जंगलभित्रका दुर्गम बस्तीको आर्थिक रूपान्तरण गर्ने क्षमता रहेको गच्छे–भालुवाङ सडकलाई बजेटमा प्राथमिकतामा राखेर छिटो पूरा गर्नेतर्फ सरकार लागेको मुख्यमन्त्री आचार्यले बताए । जिल्लाका जलुके, जुकेना लगायतका दुर्गम बस्तीका स्थानीयले सडक निर्माण पूरा भएपछि गाउँमा उत्पादन हुने तरकारी, खसीबोका, खाद्यवस्तु लगायतका उपज भालुवाङ बजारमा सहजै पुर्याउन सकिने अपेक्षा राखेका छन् । अर्घाखाँची सदरमुकाम सन्धिखर्कभन्दा भालुवाङ स्थानीयका लागि नजिक हुने भएकाले यो सडकले उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास उनीहरूमा छ ।