२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

‘क्षयरोग नियन्त्रण गर्न सबै पक्ष मिलेर अघि बढ्न आवश्यक’

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ मंसिर १२ गते २०:४६
Shares
‘क्षयरोग नियन्त्रण गर्न सबै पक्ष मिलेर अघि बढ्न आवश्यक’

रौतहट : ७२औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा गौरमा क्षयरोग सम्बन्धी बृहत् अभिमुखीकरण तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

नेपाल क्षयरोग निवारण संस्था रौतहट शाखाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता संस्थाका जिल्ला अध्यक्ष डा.नन्दकिशोर झाले गरेका थिए । यस्तै कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष राज किशोर प्र.यादव प्रमुख अतिथि रहेका थिए । 

जनस्तरमा क्षयरोग नियन्त्रणका बारेमा जागरुकता अभिवृद्धि गर्नु, रोगबाट जोगिने उपायहरू जानकारी गराउनु र उपचार सम्बन्धी तथ्यहरू सरल तरिकाले प्रस्तुत गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो । 

कार्यक्रमको प्रारम्भिक सत्रमा संस्थाका एक सदस्यले क्षयरोगको विश्वव्यापी जोखिम र नेपालमा भइरहेको नियन्त्रण तथा उपचार व्यवस्थाबारे संक्षिप्त जानकारी दिएका थिए ।

कार्यक्रममा स्वास्थ्यकर्मी र विज्ञहरूले टीबी लाग्ने कारण, लक्षण्, दुई हप्ताभन्दा बढी खोकी लगिरहनु, राति ज्वरो आउनु, तौल घट्नु आदिबारे विस्तृत जानकारी दिएका थिए । उनीहरूले क्षयरोगको उपचार पूर्ण रूपमा सम्भव रहेको बताउँदै नियमित औषधी सेवन नगरेमा रोग बहुऔषधि प्रतिरोधी बन्ने जोखिमबारे सचेत गराएका थिए ।

दिवसको अवसरमा ‘क्षयरोग नियन्त्रणमा युवाको भूमिका’विषयमा वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ । जिल्लाका विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न प्रतियोगितामा उनीहरूले टीबी सम्बन्धी जनचेतना फैलाउने, बिरामीप्रति हुने सामाजिक भेदभाव हटाउने र उपचारप्रति प्रोत्साहित गर्ने विषयमा प्रभावकारी विचार प्रस्तुत गरेका थिए । 

कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि यादवले वक्तृत्वकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरेका थिए । उनले सहभागिता जनाउने सबै विद्यार्थीलाई बधाई दिँदै उनीहरूको प्रस्तुति क्षयरोग मुक्त नेपाल अभियानमा प्रेरणादायी हुने बताए । साथै, क्षयरोग नियन्त्रण अभियानमा योगदान पु¥याउने व्यक्तिहरूलाई प्रशंसा पत्र र ब्याच प्रदान गरी सम्मान गरिएको थियो । 

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था रौतहट जिल्ला शाखाका पदाधिकारी, कार्यसमिति सदस्य, स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधि, सरकारी अधिकारी, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अध्यक्ष डा.झाले सबै सहभागीप्रति धन्यवाद व्यक्त गर्दै क्षयरोग नियन्त्रणका लागि सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । 

प्रमुख अतिथि यादवले रौतहट जिल्ला शाखाले गरेको यो प्रशंसनीय प्रयासले क्षयरोग मुक्त नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

सम्बन्धित खबर