
काठमाडौँ : कीर्तिपुर आँखा अस्पतालले हेलम्बु गाउँपालिकामा आयोजना गरेको निःशुल्क आँखा स्वास्थ्य शिविरमार्फत ७४ जनाको मोतीविन्दु शल्यक्रिया सम्पन्न भएको छ । रिड्ली आई फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा प्रारम्भिक जाँचपछि छनौट भएका बिरामीहरूको शल्यक्रिया मंसिर १० र ११ गते हेलम्बु प्राथमिक अस्पतालमा सम्पन्न गरिएको हो ।
कीर्तिपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक बिशाल थापाका अनुसार शिविरमा ९५५ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये १५६ जनामा मोतीविन्दुको समस्या पहिचान गरिएको र तीमध्ये ७४ जनाको शल्यक्रिया गरिएको हो ।
शल्यक्रिया आँखा जाँच सेवा नेत्ररोग विशेषज्ञ डा. एरिक वैद्यको नेतृत्वमा रहेको टोलीले प्रदान गरेको हो । त्यस्तै शिबिरमा दृष्टिदोषको समस्या देखिएका १३४ जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो ।
नेपाल नेत्रज्योति संघको तथ्यांकअनुसार स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म संघअन्तर्गतका अस्पतालहरूले ४ करोड ६८ लाखभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ । यस्तै, ५३ लाखभन्दा बढी आँखाका शल्यक्रिया सम्पन्न भइसकेका छन् ।
भारत, बंगलादेश, भुटानलगायत छिमेकी मुलुकका नागरिकसमेत संघअन्तर्गतका अस्पतालहरूमा उपचारका लागि आउने गरेको तथ्यांकले देखाउँछ । सन् २०२४ मा मात्र ९ लाखभन्दा बढी विदेशी नागरिकले परीक्षण गराउँदा १ लाख ६० हजारभन्दा बढीले शल्यक्रिया सेवा प्राप्त गरेका थिए ।