२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पूर्वप्रहरी अधिकारीको राजनीति मोह 

shivam cement
मुकुन्द लामिछाने
२०८२ मंसिर २० गते ०६:३०
Shares
पूर्वप्रहरी अधिकारीको राजनीति मोह 

काठमाडौंः राजनीतिमा जो कोही लाग्न पाउँछ । संविधानतः प्रत्येक नागरिकलाई चुन्ने र चुनिने अधिकार छ । यही अधिकार उपयोग गर्दै पूर्वप्रहरीहरू पनि अवकाशपछि राजनीतिमा जोडिने र नेता हुने ध्याउन्नमा छन् । हालै नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । प्रवेश गरेलगत्तै रास्वपाले पोखरेललाई केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिएको छ । 

रास्वपा प्रवेश गरेपछि पोखरेलले मुलुकको विकास र समृद्धि गर्ने भरोसाको पार्टी भनेर रास्वपाको प्रशंसा गरेका थिए । मुलुकको परिवर्तनका लागि इमानदार व्यक्ति जोडिएको पार्टी रास्वपा नै भएको दाबी गरे । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले २९औं प्रहरी महानिरीक्षक (आइजिपी)मा आफूलाई अन्याय गरिएको भन्दै तत्कालीन सरकारसम्बद्ध दलहरूमाथि विभिन्न आरोपसमेत लगाएका थिए । यही दाबीसहित पोखरेल सर्वोच्च अदालतसमेत गएका थिए । उजुरी सदर नभएपछि संगठन परित्याग गरेर बसेका उनी अहिले राजनीतिमा जोडिएका हुन् । 

पोखरेल रास्वपामा जोडिनुको उद्देश्य हो, २१ फागुनका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने र सांसद हुने । नेताहरूका अनुसार आगामी निर्वाचनमा रास्वपाको उम्मेदवार भएर उनी ओखलढुंगाबाट चुुनाव लड्ने तयारीमा छन् । पोखरेल मात्रै होइनन्, अन्य पूर्वप्रहरी पनि राजनीतिमा छन् । १५औं आइजिपी ध्रुवबहादुर प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा सक्रिय छन् । उनी विघटित प्रतिनिधि सभा सदस्य तथा राप्रपामा उपाध्यक्ष हुन् । ४ मंसिर २०७९ को चुनावमा नवलपरासी–२ बाट चुनाव लडेका उनी जितेर आएका हुन् । चुनावपछिको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बने । उनी अहिले पनि राप्रपाको राजनीतिमा सक्रिय छन् । 
२२औं प्रहरी महानिरीक्षक रवीन्द्रप्रताव शाह तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट समानुपातिक संसद् नै बने । त्यसअघि १०औं आइजिपी डिबी लामा पनि नेपाली कांग्रेसबाट सामान्य प्रशासन सहायकमन्त्री बनेका थिए ।

प्रहरीको सेवाबाट अवकाश भएपछि वा शीर्ष स्थानमा पुग्न नसकेपछि राजनीतिमा जोडिने र सांसद तथा मन्त्री हुन सक्ने अवस्था देखेपछि पूर्वप्रहरीहरू राजनीतिमा जोडिन लालायित हुने गरेका छन् । यस्तो चाहना राखेर कोही पार्टी प्रवेश त कोही पार्टी नै खोलेर अगाडि बढेका छन् । 
२६औं प्रहरी महानिरीक्षकका प्रतिस्पर्धी पूर्वडिआइजी रमेश खरेल नेपाल सुशासन पार्टी खोलेरै अगाडि बढे । ४ मंसिर २०७९ को चुनावमा काठमाडौं–१ बाट उम्मेदवार भए, जितेनन् । त्यसपछि उपनिर्वाचनमा रास्वपाबाट बारा–२ मा उम्मेदवार भए, चुनाव जितेनन् । हारपछि उनले रास्वपा छाडिदिए । 

खरेलले जस्तै २६औं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि राजनीतिमा जोडिए । ४ मंसिर २०७९ मा नेकपा एमालेबाट काठमाडौं ६ मा उम्मेदवार भए, जितेनन् । २०८० वैशाखको उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार भए, त्यहाँ पनि पराजित भए । त्यसपछि उनले एमाले नै छाडिदिए र अहिले आफैं पार्टी गठन गरे– ‘समुन्नत नेपाल पार्टी’ । उनी हाल यही पार्टी हाँकिरहेका छन् । २५औं आइजिपीका दाबेदार पूर्वडिआइजी नवराज सिलवाल पनि राजनीतिमा छन् । उनी एमालेबाट २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ललितपुर–१ बाट प्रत्यक्ष निर्वाचित भए । २०७९ मा पनि उम्मेदवार रहेका उनी पराजित हुन पुगे । अहिले उनी एमाले ११औं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य बन्ने दौडमा छन् ।  

सम्बन्धित खबर