
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि भौतिक आक्रमण र जाली मुद्दा लगाउन खोजिएको भन्दै प्रतिवादको तयारी गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।
पार्टीको ११औं महाधिवेशन समापन समारोहमा बोल्दै ओलीले भने, ‘तर्साउने, धम्क्याउने मिडिया ट्रायल भइरहेको छ । त्यसो गरियो भने यो सरकार ढालिने छ । एमालेलाई छुनु महँगो पर्ने छ ।’
अध्यक्ष ओलीले उत्तेजक भाषण गर्दै तयारी हालतमा बस्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन् । ‘कुरा हैन, कामले नै देखाउनुपर्छ,’ उनले चेतावनी दिँदै भने, जाली मुद्दा लगाउने षड्यन्त्र भए देश बन्द हुने छ । चक्काजाम हैन, सबै जाम हुनेछ ।’
अहिलेको सरकार चुनावको नभई षड्यन्त्रको तयारी गरिएको आरोप लगाउँदै सम्मानीत अदालतले राष्ट्रको जटिलता ख्याल गर्दै संसद् पुनर्स्थापना गर्नुपर्ने बताए । शान्ति सुरक्षाको नाजुक अवस्था रहेकाले टोलटोलमा सुरक्षा समिति बनाउन उनले आह्वान गरे । एक हप्ताभित्र टोल सुरक्षा समिति बनाउन आग्रह गर्दै उनले भने, ‘२४ भदौमा हामी तयारी अवस्थामा थिएनौं । राज्यका संयन्त्रको भर पर्दा धोका भयो । अब त्यस्तो हुन दिइने छैन ।’
जेनजी आन्दोलनका बेला भएको मानविय एवं भौतिक क्षतिबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई आउँदो साता बयानका लागि बोलाउने तयारी गरिरहेका बेला ओलीको यो अभिव्यक्ति आएको हो ।