
काठमाडौं : नेपाल प्राकृतिक, धार्मिक सम्पदाले धनी मुलुक भएकाले यसलाई योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । संयुक्त राष्ट्र संघले हरेक सन् २०२४ मा हरेक डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’का रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो ।
दिवसको पूर्वसन्ध्यामा आज ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलनमा स्वामी आनन्द अरुणले नेपाल प्राकृतिक, धार्मिक सम्पदाले विश्वमा धनी मुलुक भएकाले योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्ने धारणा राखे ।
उनले सरकारले काठमाडौंको टुँडिखेलमा डिसेम्बर २१ तारिख आइतबारका दिन दोस्रो ध्यान दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउने घोषणा गरेको पनि जानकारी दिए । गत वर्ष संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएसँगै टुँडिखेलमा सरकारको आयोजनामा दिवस मनाउन थालिएको हो ।
उनका अनुसार हाल नेपालमा ओशो तपोवनका ९० वटा शाखा सञ्चालनमा छन् भने जनकपुर र दमौलीमा निर्माणाधीन छन् । साथै अमेरिका, अष्ट्रेलिया, रुसलगायत देशमा पनि शाखाहरू विस्तार भइसकेका छन् । –रासस