२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

shivam cement
२०८२ पुष ८ गते ११:४६
Shares
एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी : गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ । उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो ।

गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन । किसानले उखु काटेर पुर्‍याउन नसक्दा उद्योगलाई उखु अपुग भएको हो ।

“हामीले क्रसिङ खोल्यौँ, तर क्षमताअनुसार उखु निकै कम आएको छ”, उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला भन्छन्, “यसले गर्दा रोकीरोकी क्रसिङ गर्नुपरेको छ ।” दैनिक ५५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता छ, तर उद्योगमा पहिलो दिन आएको उखु १५ हजार क्विन्टल नाघेन”, उनी भन्छन्, “यसले गर्दा रोकीरोकी क्रसिङ गर्नुपर्ने अवस्था छ ।” उद्योगलाई कम्तीमा पनि घानमै ३० हजार क्विन्टल उखु चाहिने उनको भनाइ छ ।

किसानले अहिलेको मौसमको प्रतिकूलताले उखु कटानमा समस्या भएको बताएका छन् । “उखु काटेर चाँडै उद्योगमा पुर्‍याउन हामीलाई पनि हतारो छ, तर निकै जाडो बढेको हुँदा जनशक्ति पाइएको छैन”, भंगाहा–४ का उखु किसान अरुण गिरी भन्छन्, “अब एकदुई दिनमै कटानले गति समात्ला ।”

सरकारले यसपालि गत मङ्सिर २२ गते उखुको मूल्य निर्धारण गरेको थियो । यस वर्षका लागि उद्योगले प्रतिक्विन्टल रु. ६२० र सरकारले अनुदानबापत ७० रुपैयाँ दिने तोकेको छ । यो गत वर्षभन्दा रु. ७० बढी हो । गत वर्ष उखुको मूल्य ५८५ र अनुदान ३५ रुपैयाँसहित किसानले प्रतिक्विन्टल ६२० रुपैयाँ पाएका थिए । यसपालिलाई उखुको मूल्य र अनुदानसहित ७५० पाउनुपर्ने माग राख्दै आएका किसानले थोरै भए पनि भाउ बढ्दा सन्तोष देखाएका छन् ।

जिल्लामा यसपालि नौ हजार ६०० बिघामा उखु खेती गरिएको छ । यसमध्ये पाँच हजार बिघाको खुट्टी (दोस्रो वर्षको बाली) र चार हजार ६०० बिघाको मुडन (पहिलो वर्षको बाली) रहेको उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहकको भनाइ छ ।

सम्बन्धित खबर