२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बिरुवा संरक्षण गर्दै ‘पौवादुङमा’

shivam cement
२०८२ पुष ९ गते ११:४४
Shares
बिरुवा संरक्षण गर्दै ‘पौवादुङमा’

भोजपुर : यहाँको पौवादुङमा गाउँपालिकाले पर्यटकीय क्षेत्र च्याङ्ग्रेमा रोपिएका बिरुवाको संरक्षण थालेको छ । हिउँदयाममा पानीको अभावका कारण बिरुवा सुक्ने जोखिम बढेपछि गाउँपालिकाले नियमित सिँचाइ, हेरचाह तथा संरक्षणका कार्यक्रम सुरु गरेको हो ।

च्याङ्ग्रे पोखरी तथा पौवादुङमा रङ्गशालाको आसपास क्षेत्रमा रोपिएका बिरुवालाई खडेरीबाट जोगाउन पानी व्यवस्थापन, मलजल, घेराबार तथा निगरानीका काम भइरहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणलाई प्राथमिकतामा राखिएको छ । “च्याङ्ग्रे क्षेत्रलाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ”, उनले भने, “साउन–भदौमा रोपिएका बिरुवा हिउँदमा मर्ने सम्भावना रहेकाले संरक्षणमा विशेष ध्यान दिएका हौँ ।”

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै गाउँपालिका र डिभिजन वन कार्यालयको साझेदारीमा च्याङ्ग्रे क्षेत्रमा विभिन्न जातका गुराँस, धुपी, कल्कीलगायतका विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको थियो । रोपिएका बिरुवाको संरक्षणका लागि हेरालुसमेत व्यवस्था गरिएको छ ।

हरियाली प्रवर्द्धनसँगै वातावरणीय सन्तुलन कायम राख्दै, भूक्षय नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रमको उद्देश्य रहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। च्याङ्ग्रे क्षेत्र प्राकृतिक सौन्दर्य, पोखरी, खुला खेलमैदान र मनोरम दृश्यका कारण पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

गाउँपालिकाले आगामी दिनमा थप वृक्षारोपण, पदमार्ग सुधार, विश्रामस्थल निर्माण तथा अन्य पूर्वाधार विकासका कामलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ । यसले स्थानीय पर्यटनसँगै रोजगारी सृजना र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । 

सम्बन्धित खबर