
काठमाडौं : काठमाडौंको सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिसियल इन्टेलिजेन्ट (एआई)को पढाइ हुन थालेको छ । बिएसडब्लुअन्तर्गत पत्रकारिता तथा आमसञ्चार अध्ययन गरिरहेका स्नातक प्रथम वर्षका विद्यार्थीहरूलाई एआई पढाउने गरिएको हो ।
क्याम्पसमा अध्यापनरत एआईका अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारीले पाठ्यक्रममा नभएपनि हरेक शुक्रबार विद्यार्थीहरूलाई एआईका बारेमा अध्ययन गराउन थालेको जानकारी दिए । मिडियमा एआईको प्रयोगका सम्बन्धमा दुई दर्जनभन्दा बढी जिल्लाका सयौं पत्रकारहरूलाई प्रशिक्षण दिइसकेका भण्डारीले विद्यार्थीहरूलाई एआईको इतिहास, परिभाषा, बहुआयामिकता, मिडियामा यसको प्रयोग, प्रभाव र सम्भावनाका बारेमा जानकारी दिने गरेका छन् ।
उनी भन्छन्, “मैले पढाउने शिलशिलामा हरेक शुक्रबार एआईको बारेमा छलफल गरौं भनेर प्रस्ताव राखें, विद्यार्थीहरूले अत्यन्त हर्षित भएर समर्थन जनाउनुभयो र हामीले छलफललाई निरन्तरता दिएका छौं ।” उनका अनुसार एआईको क्लास हुने दिन विद्यार्थीहरूमा फरक खालको उत्साह र उत्सुकता देखिने गरेको छ । “क्लासमा आफूले मात्रै सिकाउने भन्दा पनि एआईका बारेमा सबैले जानेका कुरा एक अर्कालाई सिकाउने वा एआईका विभिन्न प्रयोगहरूलाई देखाएर छलफल चलाउने गरिएको छ,” उनले भने ।
एआईको क्लासमा सहभागी दीपा परियार आफूहरू भाग्यमानी भएको बताउँछिन् । “बाहिर एआईको बारेमा खुबै चर्चा सुनिन्छ, तर पढ्ने र सिक्ने चाहना हुँदाहुदै पनि गन्तव्य नभेटेका बेला जीवन सरले पढाउँछु भन्नुभयो, हामी त एकदमै खुसी छौं,” उनले भनिन् ।
अर्का विद्यार्थी निश्चल तामाङले सरले सिकाइरहेकै बेलामा कक्षाकोठामै एआईबाट गीत बनाएर सुनाएको बताए । “जीवन सरले क्लासमा सुनो एआईबाट गीत बनाउन सकिन्छ भन्दै आफूले बनाएका गीतहरू सुनाउँदै हुनुहुन्थ्यो, मैले पनि तत्कालै सुनो एआई खोलेर प्रयास गरेको गीत बनिहाल्यो, अनि क्लासमै सुनाइदिएँ, हामी सबै दंग भयौं,” हर्ष मिश्रित स्वरमा तामाङले भने ।
स्नातक प्रथम वर्षकै पत्रकारिताकी विद्यार्थी स्वस्तिका डंगोलले एआईको क्लास छुटाउनै मन नलाग्ने बताउँदै उक्त क्लास एकदमै ज्ञानवर्धक हुने गरेको अनुभव सुनाइन् । उनले अन्य दिन आउन नभ्याउनेहरू पनि एआईको क्लास हुने दिन समय मिलाएर आउने गरेको र अन्य क्लासका विद्यार्थीहरू पनि आउन थालेको जानकारी दिइन् । उनले थपिन्, “पाठ्यक्रममा नभएपनि पत्रकारिताका विद्यार्थीलाई नियमित रूपमा एआईका बारेमा पढाइ हुने सरस्वती क्याम्पसमा मात्रै होला । अब यसलाई तत्काल पाठ्यक्रममा राखेर विस्तार गर्दै निरन्तरता दिन आवश्यक छ ।”
क्याम्पस प्रमुख डा ठाकुर प्रसाद वाग्लेले पाठ्यक्रममा नभएपनि विद्यार्थीको चाहनाअनुसार समयको आवश्यकता बनेको एआईका बारेमा अध्यापन हुनु आफैंमा प्रशंसनीय रहेको बताए । क्याम्पस प्रमुख वाग्लेले स्वतःस्फुर्त रूपमा एआईका बारेमा पढाउन थालेकोमा पत्रकारिताका अध्यापक जीवन भण्डारी धन्यवादको पत्र रहेको बताए । “जीवन सरको यो प्रयासले क्याम्पसको छवि नै राम्रो बनाएको छ, कलेजका अन्य शैक्षिक कार्यक्रमहरूमा पनि एआईका बारेमा नियमित अध्ययन अध्यापनका लागि प्रेरित गर्ने छौं,” क्याम्पस प्रमुख वाग्लेले भने ।
बिएसडब्लुका संयोजक गिरिन्द्र शाहले पाठ्यक्रममा मात्रै सीमित नभई अहिलेको आवश्यकता, व्यवहारिकता र उपयोगिताका आधारमा नयाँ नयाँ विषयबस्तु समावेश गर्नुपर्ने खाँचो औंल्याए । उनले पत्रकारिता मात्रै नभई अन्य क्षेत्रमा पनि एआईको प्रयोग र प्रभाव बढ्दै गएकाले सबै शैक्षिक कार्यक्रममा एआईलाई समावेश गर्नुपर्नेमा जोड दिए ।
त्रिभुवन विश्वविद्यालयले अहिले पत्रकारितातर्फ स्नातकोत्तरको चौथो सेमेस्टरमा एआई पढाउने गरी पाठ्यक्रम बनाएको छ । तर विद्यार्थीहरू त्यो भन्दा तल्ला तहमै अहिले नै एआईको बारेमा पढाइ सुरु गर्नुपर्नेमा जोड दिन्छन् । “एआईका बारेमा अहिले नै नजानी नहुने भइसकेको छ, चार वर्षपछि पढ्न पाइन्छ भनेर के काम ?” पत्रकारिताकै अर्की विद्यार्थी सुष्मा रेग्मीको प्रश्न छ ।
त्रिवि पत्रकारिता केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल पनि तत्काल सबै तहमा एआईका बारेमा अध्ययन अध्यापन गराउनुपर्ने पक्षमै छन् । त्यसका लागि आफ्नो तर्फबाट गृहकार्य भइरहेको उनले जानकारी दिए । उनका अनुसार त्रिविअन्तर्गत सरस्वती क्याम्पसको स्नातक तहका पत्रकारिताका विद्यार्थीलाई नियमित रूपमा एआईका बारेमा पढाउन सुरु गर्नु अत्यन्त प्रशंसनीय कार्य हो । “यो अभ्यास अन्य क्याम्पसहरूमा अहिले नियमित रूपमा भएजस्तो लागेको छैन, सबैले गर्नु राम्रो हुन्छ,” उनले भने ।