
नेपाली सञ्चार जगतमा केही नाम यस्ता छन्, जसलाई चिनाउन परिचयभन्दा अनुभव चाहिन्छ । बिजन दुवाडी त्यस्तै नाम हुन्- रेडियोको माइकबाट सुरु भएको यात्रा, टेलिभिजनको पर्दा, स्टेजको उज्यालो र विज्ञापनको सिर्जनात्मक संसारसम्म फैलिएको । उनी केवल रेडियोकर्मी मात्र होइनन्, सञ्चार उद्यमी, कार्यक्रम निर्माता, कुशल एंकर र प्रभावशाली विज्ञापन निर्देशकसमेत हुन् ।
हजारौं स्रोता आज पनि उनको आवाज खोजिरहेका हुन्छन् । सिटिजन एफएमको लोकप्रिय कार्यक्रम ‘अमृतम गमयः’ दुवाडीको दिनको पहिलो परिचय हो । बिहान ८ देखि १० बजेसम्म प्रसारण हुने यो कार्यक्रममा उनले प्रेरणादायी कथादेखि समसामयिक बहससम्म श्रोतालाई दुई घण्टा बाँधेर राख्छन् । कार्यक्रमप्रतिको अत्यधिक मोहकै कारण उनी प्रायः यही कार्यक्रम होस्ट नगरी दिन सुरु गर्दैनन् । जमलस्थित रेडियो स्टेशनको कार्यालयमा कार्यक्रम सकिएपछि उनी दिनभरका योजना बुन्छन्- व्यावसायिक भेटघाट, मिटिङ र नयाँ सम्भावनाको खोजीमा लाग्छन् ।
रेडियोमा लोकप्रिय बन्ने चाहनासहित सञ्चार क्षेत्रमा प्रवेश गरेका दुवाडीले पछाडि फर्केर हेर्नुपरेको छैन । रेडियो सिटीमा एउटा कार्यक्रमबाट सुरु भएको यात्राले उनलाई सफल सञ्चार उद्यमीको परिचय दिलाएको छ । उनको प्रस्तुति शैलीले युवा पुस्तालाई विशेष गरी आकर्षित गर्यो । कार्यक्रमको लोकप्रियता चुलिँदै जाँदा प्रायोजक र विज्ञापनदाताको भीड लाग्न थाल्यो । फोन कल, चिठीपत्र र प्रत्यक्ष प्रतिक्रियाले उनको क्रेज प्रमाणित गर्यो । यही लोकप्रियताका कारण निर शाहदेखि सरोज खनाल, करिश्मा मानन्धरसम्मका चर्चित कलाकार र दिग्गज व्यक्तित्व उनको कार्यक्रममा संवाद गर्न लालायित भए ।
स्टुडियोभित्र सीमित नरहँदा दुवाडीको प्रस्तुति अझ फराकिलो बन्यो । अवार्ड कार्यक्रम, रियालिटी शो, महोत्सव, कन्सर्ट र सांगीतिक कार्यक्रमको स्टेजमा पनि उनले उत्तिकै आत्मविश्वासका साथ दर्शक जिते । यही निरन्तर यात्रामा उनले थुप्रै सम्मान र अवार्ड पाए । ती अवार्डहरू केवल सजावट होइनन्, आज पनि उनलाई उस्तै जोश र हौसलाका साथ काम गर्न प्रेरणा दिने स्रोत हुन् ।
कार्यक्रमका सिलसिलामा देश–विदेश घुमेका दुवाडी आफ्नो सफलता मेहनत र सरल व्यवहारकै परिणाम ठान्छन् । नेपालका अधिकांश जिल्ला पुगिसकेका उनी अमेरिका, बेलायत, कतार, सिंगापुर, मलेसिया, थाइल्यान्डलगायत एक दर्जनभन्दा बढी देशमा रहेका नेपालीमाझ आफ्ना कार्यक्रममार्फत उपस्थित भइसकेका छन् ।
रेडियोपछि उनको यात्रा टेलिभिजनतर्फ मोडियो । तराई टिभीमार्फत काँचको पर्दाका लागि कार्यक्रम उत्पादन गरेका दुवाडी पछि हिमशिखर टेलिभिजनसँग जोडिए । त्यहाँ उनले व्यवस्थापनको जिम्मेवारीसमेत सम्हाल्ने अवसर पाए । यही क्रममा चर्चित कलाकार विपना बस्नेतसँग मिलेर सुरु गरिएको ‘बिन्दास क्याबिनेट’ कार्यक्रमले पनि दर्शकमाझ राम्रो चर्चा कमायो ।
मिडियामा क्यामेरा-फ्रेन्ड्ली व्यक्तित्वका रूपमा चिनिएका दुवाडी विज्ञापनको क्षेत्रमा पनि उत्तिकै सफल छन् । थोरैलाई मात्र थाहा छ- उनी नेपालका चुनेका केही उत्कृष्ट टीभीसी विज्ञापन निर्देशकमध्ये एक हुन् । बैंक, सिमेन्ट, जुत्ता, इन्डिका स्याम्पु, विभिन्न मन्त्रालयलगायत दर्जनौं संस्थाका लागि उनले तयार पारेका विज्ञापन आज पनि दर्शकको स्मृतिमा ताजा छन् । ठूला कम्पनीहरूले उनको क्षमतामा देखाएको विश्वासले उनको व्यावसायिक उचाइ झन् मजबुत बनाएको छ ।
रेडियोको माइकदेखि ब्रान्डिङको क्यानभाससम्म फैलिएको बिजन दुवाडीको यात्रा एक व्यक्तिको मात्र कथा होइन, यो सम्भावना र अवसरलाई आफ्नो पक्षमा पार्न सक्ने दृढ इच्छाशक्तिको उदाहरण हो । एउटै व्यक्तिमा अनेक क्षमता सम्भव हुन्छ भन्ने प्रमाण हुन्- बिजन दुवाडी ।