
काठमाडौंः शहीद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै शहीद परिवारका सदस्यहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् ।
मधेस सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेसमा रहेका शहीद परिवारलाई दिइँदै आएको राहत प्याकेज समेत अड्काएर राखेको उनीहरुको आरोप छ । शहीद परिवारको अपमान गर्न खोजिएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
मधेसी शहीद प्रतिष्ठानका सदस्यहरुले पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिवारसम्म आफूहरुको माग सम्बोधनमा सरकारले गम्भिरता नदेखाए आन्दोलन गर्ने बताए । सरकारले शहीद परिवारलाई अपमान गर्नुका साथै मधेसी शहीद प्रतिष्ठान नै बन्द गर्ने योजना बनाइरहेको आफूहरुलाई महशुस भएको उनीहरुको भनाइ छ ।
प्रतिष्ठानका सदस्य शुभम यादवले आफूहरु प्रतिष्ठानमा आएको ७/८ महिना भइसक्दा समेत तलबसम्म नपाएको गुनासो गरे । गृह सञ्चार तथा कानुन मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि आफूहरुलाई व्यवस्थापन नै नगरी कार्यालय खाली गर्न दबाब समेत आइरहेको उनले आरोप लगाए ।