२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

उखु खरिदमा चिनी उद्योगीको सिन्डिकेटविरुद्ध  किसानद्वारा आन्दोलनको घोषणा

shivam cement
कृष्ण तिवारी
२०८२ पुष ९ गते २०:४४
Shares
उखु खरिदमा चिनी उद्योगीको सिन्डिकेटविरुद्ध  किसानद्वारा आन्दोलनको घोषणा

रौतहट : मधेश प्रदेशमा सञ्चालित चिनी उद्योगीहरुले उखु खरिद–बिक्रीमा लगाएको सिन्डिकेटको विरोधमा रौतहटका उखु किसानहरुले आन्दोलनको घोषणा गरेका छन् ।

किसानहरुका अनुसार रौतहट, बारा, पर्सा र सर्लाही जिल्लामा सञ्चालित चिनी उद्योगीहरुले आपसी सहमतिमा आफ्नो जिल्लाभित्र मात्रै उखु खरिद गर्ने निर्णय लागू गरेका छन् । यसअनुसार, एक जिल्लाको उखु अर्को जिल्लाको उद्योगले खरिद गर्न पाउँदैनन् ।

यस निर्णयका कारण रौतहटका किसानहरू बारा, पर्सा वा सर्लाहीको चिनी उद्योगमा उखु बिक्री गर्न सकेका छैनन् । रौतहटका किसानहरूले अब आफ्नै जिल्ला रौतहटमा सञ्चालनमा रहेको एकमात्र चिनी उद्योग बाबा बैजुनाथ सुगर एण्ड केमिकल्समा मात्र उखु बिक्री गर्न बाध्य भएका छन् । 

किसानहरूले यस निर्णयलाई उद्योगीहरूको स्वार्थप्रेरित सिन्डिकेटको रूपमा आलोचना गर्दै तत्काल खारेज गर्न माग गरेका छन् । 

बुधबार फतुवा विजयपुर नगरपालिका–९, विजयपुर बजारमा सयौं किसानहरू भेला भई सिन्डिकेटविरुद्ध प्रदर्शन र आन्दोलन कार्यक्रम घोषणा गरेका छन् ।  किसानहरूले माग सम्बोधन नभए कडा आन्दोलन गर्ने घोषणा गरेका छन् । 

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र प्रसाद यादवले सिन्डिकेट तुरुन्त खारेज गर्नुपर्ने बताए । उनका अनुसार किसानले उत्पादन गरेको उखु आफूले चाहेको उद्योगमा बिक्री गर्ने स्वतन्त्रता सुनिश्चित हुनुपर्ने हो । 

एमाले नेता शिवपुजन यादवले पनि किसानको हक–अधिकारमाथि उद्योगीहरूले हस्तक्षेप गर्न नपाउने बताए । वडाध्यक्ष राकेश यादव (पप्पु यादव)ले पनि उद्योगीहरूले किसानमाथि अन्याय गरेको बताए ।

स्थानीय किसान बिजय अधिकारीका अनुसार सिन्डिकेटको विरोध स्वरूप तत्कालका लागि बाबा बैजुनाथ सुगर चिनी मिलमा उखु बिक्री नगर्ने निर्णय गरिएको छ । समाधान ननिस्केसम्म काटिसकिएको उखु खेतमै राखिने र बाँकी उखु पनि मिलमा नदिने निर्णय गरिएको छ ।

अन्दोलनको पहिलो चरणमा उखु उत्पादक किसान संघर्ष समिति समेत गठन गरिएको छ । ज्ञानेन्द्र प्रसाद यादवको अध्यक्षतामा गठन भएको ५१ सदस्यीय समितिको उपाध्यक्षमा कुमार शिवाकोटी, सचिवमा राजकरण राय यादव, कोषाध्यक्षमा सुरेश यादव चयन भएका छन्। सदस्यहरूमा लालबाबु पटेल, बिजय अधिकारीलगायत रहेका छन् । संघर्ष समितिले माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यसैबीच, कटहरिया नगरपालिका–९, डुमरियामा सञ्चालित बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स उद्योगका उद्योगपति बैजु प्रसाद बाबराले आफ्नो उद्योगले किसानमाथि कुनै सिन्डिकेट लागू नगरेको दाबी गरे । 

सम्बन्धित खबर