२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)

shivam cement
दिवाकर अधिकारी
२०८२ पुष १२ गते ०६:४५
Shares
दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)

काठमाडौं : २०६२/६३ को जनआन्दोलन र लोकतन्त्र बहालीपछिका दुई दशकमा नेपाली साहित्य बजारले उल्लेख्य फड्को मारेको छ । यस अवधिमा आएका बेस्टसेलर पुस्तकले लेखकलाई सेलिब्रिटी मात्र बनाएन्, होलटाइम पनि बनायो । व्यावसायिक प्रकाशन गृहको उदय, सामाजिक सञ्जाल र ई–मार्केटिङले समग्र पठन संस्कृतिकै विस्तार गरिदिएको छ । मध्यान्हले प्रकाशक गृह, लेखक, विक्रेता एवं समीक्षकबाट प्राप्त सूचना विश्लेषण गरी दुई दशक (२०६२–०८२)का बेस्टसेलर २० पुस्तकको सूची तयार पारेको छ ।  

पुस्तक : कर्नाली ब्लुज
लेखक : बुद्धिसागर

यो उपन्यास छोराको दृष्टिकोणबाट बाबुको संघर्ष, पारिवारिक जीवन र कर्णाली क्षेत्रको ग्रामीण समाजको मार्मिक चित्रण हो । यसमा पिता–पुत्र सम्बन्ध, बाल्यकालका अनुभव र भावनात्मक गहिराइ छ । सरल भाषा, मनछुने कथा र नेपाली समाजको यथार्थ चित्रणका कारण यो विगत दुई दशकको लोकप्रिय नेपाली उपन्यास बनेको छ ।

०००००००

पुस्तक : सेतो धरती
लेखक : अमर न्यौपाने

यो उपन्यास बाल्यकालमा नै विधवा भएकी ताराको विडम्बनापूर्ण जीवनकथा हो । यस उपन्यासमा परम्परा, नारीपीडा, विद्रोह र संघर्षको मार्मिक चित्रण छ । सरल भाषा, नेपाली समाजको कटु यथार्थ र हृदयस्पर्शी शैलीले आमपाठकसम्म पुगेर बेस्टसेलर बन्न सफल भएको छ ।

०००००००

पुस्तक : समर लभ, साया र इजोरिया
लेखक : सुबिन भट्टराई

समर लभ कलेज प्रेमकथा हो जसमा युवा प्रेम, संघर्ष र भावनाको सरल चित्रण छ । इजोरिया तराई–मधेशको परिवेशमा महिला, परिवार र अस्मिताको मनोवैज्ञानिक कथा हो । युवापुस्ताको प्रेम–सम्बन्ध, सरल भाषा र मिठासपूर्ण शैलीले यी पुस्तक नेपालका सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्छ । यी पुस्तकहरू युवामाझ अत्यधिक लोकप्रिय छन् ।

०००००००

पुस्तक : खुसी
लेखक : विजयकुमार पाण्डे

यो पुस्तक लेखकको व्यक्तिगत जीवनानुभव, राजनीतिक–सामाजिक प्रसंग र जीवनदर्शनको संस्मरण हो । लेखकले पुस्तकको सुरुवात नै आफ्नो अत्यधिक मदिरा सेवनको लतबाट गरेका छन् । सरल–इमानदार भाषा, भावनात्मक गहिराइ र प्रेरणादायी कथाले खुसी बेस्टसेलर बनेको छ ।

०००००००

पुस्तक : सोच– एउटा आत्मविश्वास
लेखक : कर्ण शाक्य

यो पुस्तक लेखकको व्यक्तिगत जीवनानुभव, संघर्ष र सफलताको कथा हो । जसमा सकारात्मक सोच, आत्मविश्वास र देशप्रेमको सन्देश छ । सरल भाषा, प्रेरणादायी विचार र नेपाली युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने शैलीले यो नेपालको क्लासिक बेस्टसेलर बनेको छ ।

 

पुस्तक : चिना हराएको मान्छे
लेखक : हरिवंश आचार्य

यो आत्मकथामा लेखकको बाल्यकाल, संघर्षपूर्ण कलाकार जीवन, मह जोडीको सुरुवात, प्रेम–विवाह र पहिलो पत्नी मीराको मृत्युपछिको पीडाको मार्मिक चित्रण छ । हास्य र भावुकताको संयोजन, मौलिक भाषा र जीवनको यथार्थ चित्रणले आमनेपाली पाठकको मन जितेर यो बेस्टसेलर बनेको छ ।

०००००००

पुस्तक : प्रयोगशाला
लेखक : सुधीर शर्मा

यो पुस्तक माओवादी विद्रोह र नेपालको राजनीतिक संक्रमणमा दिल्ली (भारत), दरबार र माओवादीको भूमिकाको गहिरो विश्लेषण हो । पुस्तक गोप्य सूचना, अन्तर्वार्ता र यथार्थ घटनाक्रममा आधारित छ । यसले नेपाली राजनीतिमा भारतीय संलग्नताका नखुलेका पर्दा उघारेको छ । सोही कारण चर्चित एवं बेस्टसेलर बनेको छ ।

०००००००

पुस्तक : जीवन काँडा कि फूल
लेखक : झमक घिमिरे

यो आत्मकथामा सेरेब्रल पाल्सीबाट पीडित लेखिकाको बाल्यकालदेखिको संघर्ष, सामाजिक बहिष्कार, परिवारको व्यवहार र खुट्टाले लेखेर साहित्य सिर्जनाको प्रेरणादायी कथा छ । सरल भाषा, जीवनप्रतिको आशा र अपांगतामाथि नेपाली समाजको भेदभावपूर्ण व्यवहारको चित्रणले पाठकको मन छुन्छ । यो नेपालको धेरै बिक्री हुने तथा क्लासिक बेस्टसेलर बनेको छ ।

०००००००

पुस्तक : नीलो प्रेम
लेखक : पुरुषोत्तम बजगाईं

यो उपन्यास आकाश र वर्षाको प्रेमकथामा आधारित छ, जसमा मित्रता, पारिवारिक सम्बन्ध, किशोर मनोविज्ञान र जीवनका संघर्षहरूको चित्रण छ । सरल–भावुक भाषा, युवा प्रेम र भावनात्मक गहिराइले युवा पुस्तालाई आफ्नै कथाजस्तो लागेर यो लोकप्रिय तथा बेस्टसेलर बनेको छ ।

०००००००

पुस्तक : महावीर पुन
लेखक : महावीर पुन

यो आत्मकथामा लेखकको ग्रामीण बाल्यकाल, शिक्षा संघर्ष, अमेरिका अध्ययन, हिमाली गाउँमा वायरलेस इन्टरनेट विस्तार, राष्ट्रिय आविष्कार केन्द्र स्थापना र सामाजिक नवप्रवर्तनको प्रेरणादायी यात्रा छ । सरल भाषा, इमानदार अनुभव र देशप्रेमपूर्ण सन्देशले युवा तथा आमपाठकलाई प्रेरित गर्दै यो नेपालको सदाबहार बेस्टसेलर बनेको छ ।

०००००००

पुस्तक : अन्तरमनको यात्रा
लेखक : जगदीश घिमिरे

यो आत्मकथामा लेखकको बाल्यकाल, सामाजिक कार्य, जीवन संघर्षसँगै क्यान्सर रोगसँगको लडाइँको मार्मिक वर्णन छ । यो कृतिमा जीवनको गहिरो चिन्तन, सकारात्मकता र आन्तरिक यात्राको भावुक चित्रण छ । सरल भाषा, प्रेरणादायी सन्देश र जीवनको यथार्थले यो नेपालको बेस्टसेलर तथा सदाबहार लोकप्रिय पुस्तक बनेको छ ।

०००००००

पुस्तक : लु
लेखक : नयनराज पाण्डे

यो उपन्यास तराईको सीमावर्ती गाउँमा बस्ने गरिब तथा उपेक्षित समुदायको जीवनमाथि लेखिएको छ । यो देहातको कथा हो जहाँ गरिबी, भेदभाव, राजनीतिक बहिष्करणको लुमार्फत लेखकले प्रतीकात्मक संघर्षको चित्रण गरेका छन् । जीवन्त पात्र, यथार्थवादी शैली र तराईको सामाजिक यथार्थले यो आधुनिक नेपाली साहित्यको चर्चित तथा लोकप्रिय उपन्यास बनेको छ ।

०००००००

पुस्तक : विनोद चौधरी
लेखक : विनोद चौधरी

यो सफल व्यवसायी विनोद चौधरीको आत्मकथा पुस्तक हो । यसमा लेखकले आफ्नो बाल्यकाल, पारिवारिक व्यापारका उतारचढाव, वाइवाइ चाउचाउको सफलतासँगै चौधरी ग्रुपको विस्तार र नेपालको पहिलो अर्बपति बन्ने संघर्षपूर्ण यात्रा वर्णन गरेका छन् । राजनीतिक सम्बन्ध, व्यावसायिक जोखिम र सफलताको इमानदार चित्रणले युवा उद्यमीहरूलाई प्रेरित गर्ने यो पुस्तक नेपालको सदाबहार बेस्टसेलर बनेको छ ।

०००००००

पुस्तक : योगमाया
लेखक : नीलम कार्की निहारिका

यो उपन्यास राणाकालीन समाजसुधारक तथा नेपालकी पहिलो महिला क्रान्तिकारी योगमाया न्यौपानेको जीवनीमा आधारित छ । यसमा नारी अधिकार, जातीय विभेद, बालविवाह र सामाजिक कुरीतिविरुद्ध विद्रोहको मार्मिक चित्रण छ । गहिरो अनुसन्धान, सरल भाषा शैली र नारी संघर्षको प्रेरणादायी कथाले यो बेस्टसेलर पुस्तक बनेको छ ।

०००००००

पुस्तक : रक्तकुण्ड
लेखक : कृष्ण अविरल

यो उपन्यास २००१ को दरबार हत्याकाण्डमा आधारित छ, जसमा राजपरिवारका भित्री कथा, घटनाको पृष्ठभूमि र वैकल्पिक व्याख्याको रोचक चित्रण छ । सनसनीपूर्ण रहस्य, दरबारका नदेखिएका पक्ष र वास्तविक घटनाको मिश्रणले नेपाली इतिहासप्रेमी पाठकमा तीव्र जिज्ञासा जगाएर यो बहुचर्चित बेस्टसेलर बनेको छ ।

०००००००

पुस्तक : संसारलाई साढे पाँच फन्को
लेखक : पुष्कर शाह

यो संस्मरणमा लेखकको ११ वर्षमा साइकलद्वारा विश्वका १ सय ५० बढी देश घुम्दै शान्ति सन्देश फैलाउने रोमाञ्चक यात्राको वर्णन छ । यसमा विभिन्न देशका भिन्न संस्कृति, चुनौती र मानवीय सहयोगको जीवन्त चित्रण गरिएको छ । साहसिक अनुभव, सरल भाषा र प्रेरणादायी सन्देशले नेपाली पाठकले यो पुस्तक रुचाएका छन् । 

०००००००

पुस्तक : मोक्षान्त : काठमान्डु फिभर
लेखक : कुमार नगरकोटी

यो पुस्तक काठमाडौंको अराजकता, सपना, यौन, मृत्यु र अस्तित्वको खण्डित कथाहरूको संग्रह हो । यसमा जादुयी यथार्थवाद, कवितामय भाषा र सहरको नदेखिएको पक्षको प्रयोगवादी चित्रण छ । भिन्न शैली, गहिरो दार्शनिकता र काठमाडौंको वैकल्पिक चित्रणले युवा तथा बौद्धिक पाठकमाझ यो लोकप्रिय बनेको छ ।

०००००००

पुस्तक : पल्पसा क्याफे
लेखक : नारायण वाग्ले
यो उपन्यास माओवादी ‘जनयुद्ध’को पृष्ठभूमिमा पत्रकार सिद्धार्थ र चित्रकार पल्पसाको प्रेमकथामा आधारित छ । यसमा युद्धको क्रुरता, मानवीय सम्बन्ध, पत्रकारिता र समाजको मार्मिक चित्रण गरिएको छ । सरल र जीवन्त भाषा, द्वन्द्वको यथार्थ र रोमाञ्चक प्रेमकथाले यो नेपाली साहित्यको लोकप्रिय उपन्यास बनेको छ ।

०००००००

पुस्तक : मुकाम रणमैदान
लेखक : मोहन मैनाली

यो पुस्तक विसं १८१४–१८१६ को नेपाल–अंग्रेज युद्धको रणमैदानबाट आदनप्रदान भएका गोप्य पत्रहरू, दस्तावेज र अनुसन्धानमा आधारित वर्णन हो । नेपाली वीरताको चित्रण, युद्धको यथार्थ र ऐतिहासिक तथ्यको गहिरो खोजीले पाठकमा राष्ट्रिय भावना जगाउँछ । दस्ताबेजमाथि गरिएको गहन खोजीले यो पाठकको रोजाइको पुस्तक बनेको छ । 

०००००००

पुस्तक : राधा
लेखक : कृष्ण धारावासी
यो उपन्यासले राधा–कृष्णको प्रेमलाई माध्यम बनाएर प्रेमको दार्शनिक गहिराइ, मानवीय कमजोरी, समाज र धर्मको चित्रण गर्छ । यसमा राधाको मनोवैज्ञानिक यात्रा, कृष्णसँगको सम्बन्ध र जीवनको अर्थको खोजी छ । काव्यात्मक भाषा, गहन दर्शन र नेपाली साहित्यमा नौलो शैलीले यो पुस्तक बेस्टसेलर बनेको छ ।

यो पनि पढ्नुहोस्–

बेस्टसेलर बुक, सेलिब्रिटी लेखक

 

सम्बन्धित खबर