२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

बेस्टसेलर बुक, सेलिब्रिटी लेखक

shivam cement
जनक नेपाल
२०८२ पुष १२ गते ०६:४०
Shares
बेस्टसेलर बुक, सेलिब्रिटी लेखक

काठमाडौं : उपन्यासकार सुबिन भट्टराईले प्रज्ञा भवनको डबलीमा २३ भदौ २०७१ को माहोल सायदै बिर्सेलान् । भदौरे घामपानीबाट जोगिन टेन्ट टाँगिएको थियो । सयौंको भिडले डबली खचाखच थियो । साया उपन्यास त्यहीँबाट पाठकको बन्यो । विमोचनकै बेला १ हजारभन्दा धेरै पुस्तकमा उनले हातै दुख्नेगरी हस्ताक्षर गरे । २० हजार कपी छापेर बजारमा पुगेको साया अर्को दिन मध्याह्न नहुँदै ‘सोल्डआउट’ भइसकेको थियो । ‘त्यो नै मेरो लेखन यात्राको ठुलो टर्निङ प्वाइन्ट थियो,’ सुबिन भन्छन्, ‘पाठकको त्यही साथले नै मलाई पूर्णकालीन लेखक बन्न भरोसा दिलायो ।’ 

साया रुचाइएपछि अघिल्लो उपन्यास समर लभको बिक्री पनि ह्वात्तै बढ्यो । अहिलेसम्म ती दुवै उपन्यासको बिक्री १ लाख नाघिसकेको छ । त्यसपछि आएका उनका सबै उपन्यास बेस्ट सेलर भए । साहित्य क्षेत्रमा कुनैबेला सुबिनलाई साहित्यकार मान्नसमेत हिच्किचाउनेहरू थिए । तर उनैलाई पाठकले मन पराए । लेखक सेलिब्रिटी बनाइदिए । नयाँ पुस्ताले अहिले कुनै साहित्यकारको नयाँ कृति पर्खिन्छ भने त्यो उनै सुबिन हुन् । ‘पाठकले मबाट प्रेमकथा, उत्प्रेरक र सामाजिक विषयका पुस्तक पर्खिरहेझैं लाग्छ,’ उनी भन्छन्, ‘त्यसैले त म होलटाइमर लेखक हुन सकें । त्यही मायाले म लेखनबाहेक अर्को कुनै विकल्प नदेख्ने भइसकेको छु ।’ 

तर १३ वर्षअघि उनको स्थिति अर्कै थियो । भर्खर वातावरण विज्ञानमा अध्ययन सकेका सुबिन जागिरको खोजीमा भौतारिइरहेका थिए । बेरोजगारी छल्न उनी कलेजमा पाटटाइम पढाउँथे । त्यसले उनको पकेट मनी पनि चल्दैनथ्यो । 

झट्ट जागिर नभेटिएपछि उनले आफ्ना कापीहरू बटुले, जहाँ कथाहरू लेखिएका थिए । त्यतिन्जेलसम्म उनलाई टाइप गर्न आउँदैनथ्यो । टाइप गर्न सिके र कापीका कथाहरू टाइप गर्न थाले । अनि प्रकाशक खोज्न थाले । आफैंले लगानी गरेर पाँचपोखरी प्रकाशनबाट २०६७ सालमा उनको पहिलो कथा संग्रह निस्क्यो, कथाकी पात्र ।  

खासै नसुनिएको लेखक, कमै चलेको प्रकाशन गृह । कथा संग्रहको चर्चा र बिक्री खासै भएन । तर सुबिनको मनमा आशाका किरण ल्याउने पहिलो पुस्तक त्यही थियो । दुई वर्षपछि ल्याएको समर लभपछि सुबिनले पछाडि फर्केर हेर्नुपरेको छैन । किनभने उनीले लामो भविष्य बोकेका युवा पाठक रिझाएका छन् । 

०००००

बुद्धनगरको इनोभेटिब बोर्डिङ स्कुलका अंग्रेजी शिक्षक थिए, कुमार नगरकोटी । तलब राम्रै थियो । घर चलेकै थियो । बेलामौकामा साहित्य सिर्जना गरिरहेकै थिए । एकाएक उनको मनमा उपन्यास लेख्ने जोस जाग्यो । दिनभर पढाएर उपन्यास लेख्न सकिन्न भन्ने जुन दिन लाग्यो, उनी १२ वर्षदेखि पढाउँदै आएको स्कुल छाडेर लेख्न बसे । त्यही आँटले नगरकोटीलाई सेलिब्रिटी लेखक मात्र बनाएन्, होलटाइमर लेखक बनेर बाँच्न सक्ने बनायो ।  उनी संस्मरण, नाटक र कविता मात्र लेख्दैनन्, रंगमञ्चमा बेजोड प्रस्तुति पनि दिन्छन् । 

गत वर्ष काठमाडौंका नाटक घरहरूमा नगरकोटीका नाटकहरू एकसाथ हाउसफुल चलिरहेका थिए । यो हिउँदमा उनी म्युजिकल पोएट्री यदाकतामा व्यस्त छन् । भिडियो कवितामा जमेका नगरकोटी कवितालाई संगीतको लय र सुरतालमा नृत्यमग्न बनाइरहेका छन् । बिहीबारको प्रस्तुति निकै रुचाइएको छ । 

नगरकोटीको कल्पनशीलता जादुमयी छ । त्यसैले उनका पाठक पनि सेलेक्टिभ छन् । उनी आफैं पनि आख्यानकारभन्दा ज्यादा फिक्सन डिजाइनर भन्न रुचाउँछन् । ‘म रिस्क लिइरहन मन पराउँछु । जे भइरहेको छ, म खुसी छु’ उनी भन्छन्, ‘म चलिरहेको छु । त्यसैले त होल टाइमर बनेर घरसंसार चलाइरहेको छु ।’ 

०००००

उपन्यासकार बन्नुअघि नारायण वाग्ले कान्तिपुर दैनिकको संवाददातादेखि सम्पादकसम्मको यात्रा तय गरिसकेका थिए । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेकै बेला उनले त्यसैको सेरोफेरोमा पहिलो उपन्यास ल्याए, पल्पसा क्याफे । वाग्लेका अखबारी लेखनका प्रशंसक त थिए नै, प्रकाशकले प्रचारप्रसारमा निकै मिहेनत पनि गर्‍यो । कफी गफ पढ्ने बानी परेका पाठक नै पल्पसा क्याफेका पहिलो चरणका पाठक थिए । वाग्लेको सरल एवं रिपोटार्ज शैलीको लेखन धेरैले रुचाए । त्यसैले त पहिलो उपन्यास नै बेस्ट सेलर मात्र बनेन, उनलाई सम्पादकबाट एकाएक सेलिब्रिटी लेखक बनाइदियो । 

त्यतिबेला वाग्लेलाई धेरैले सोध्ने प्रश्न थियो, तपाईं लेखक कि सम्पादक ? ‘यी दुईलाई म प्रतिस्पर्धाले हेर्दिनँ’ उनी भन्छन्, ‘मेरा लागि यी दुवै परिपूरक हुन् । पत्रकारको पृष्ठभूमिले मेरो लेखनमा पक्षपोषण गर्‍यो । साहित्यिक पृष्ठभूमिले पत्रकारितामा सघायो । मेरा लागि यी दुवै सन्तुलित मिश्रण हुन् ।’ 

पल्पसा क्याफेपछि मयुर टाइम्स र कोरियाना कफी गफ लेखिसकेका वाग्ले अहिले भने तनहुँमा अग्र्यानिक खेतीपातीमा लागेका छन् । उनको परिचय सम्पादक, उपन्यासकार हुँदै किसानमा फर्किएको छ । अहिले फेरि उनलाई अर्को प्रश्न ठोक्किन थालेको छ, तपाईं किसान कि लेखक ? यसलाई पनि वाग्ले एकअर्काका सहयोगी ठान्छन् । ‘छुट्याएर हेर्न मिल्दैन’ आफ्नै शैलीको हाँसोमा उनी भन्छन्, ‘म आफूलाई प्रश्नसहितको किसान भन्न रुचाउँछु । पत्रकारिता/साहित्यको ज्ञान नभएको भए मैले सोधीखोजी र अनुसन्धानमा ध्यान दिँदैनथे । जिज्ञासा र उत्सुकता हुँदैनथ्यो ।’ खेतीकिसानी सँगै उनी चौथो उपन्यासको तयारीमा छन् । 

०००००

एक समय थियो, प्रकाशन गृहले नयाँ किताब छाप्दा १ हजारप्रति नै ठुलो आँट मानिन्थ्यो । बजार सानो थियो । पाठक सीमित थिए । जोखिम धेरै थियो । पहिलो संस्करणको प्रति ३ देखि ५ हजार हुँदै धेरै पढिने लेखकका किताब ३० हजार प्रतिसम्म पुगेको छ । यसले नै किताबको बजार विस्तार भएको देखाउँछ । 

खासगरी २०६२/६३ को जनआन्दोलनले लोकतन्त्र पुनर्स्थापित गरेसँगै नेपाली समाजमा किताबको बहार आएको देखिन्छ । त्यो बुझेरै एकपछि अर्को गर्दै नेपालय, फाइनप्रिन्ट, बुकहिल, सांग्रिला, शिखा, क्रियटिभ बुक्स, इन्डियोलगायत प्रकाशनको उदय हुँदै गयो । जसका कारण बितेका दुई दशकमा दर्जनौं बेस्ट सेलर किताब आए, जसले लेखकलाई पनि सेलिब्रिटी बनाइदिए । सुबिन, नगरकोटी र वाग्ले तिनै सेलिब्रिटीमध्ये पर्छन् । 

फर्केर हेर्दा लाग्छ, व्यावसायिक प्रकाशन गृहले ठिक समयमा हात हाले । लोकतन्त्रसँगै खुला समाज र विचार विमर्शले प्रश्रय पाउँदै थियो । विचार निर्माणका लागि पनि पुस्तकको खाँचो थियो । शिक्षित युवा जनसंख्या बढ्दो थियो । त्यहीबेला व्यावसायिक प्रकाशन गृहहरूले राम्रो साजसज्जासहित नयाँनयाँ लेखकलाई बजारमा ल्याए । पुस्तकहरू प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले छाप्दै आएकाभन्दा भिन्न मात्र थिएनन्, आकर्षक पनि थिए । त्यसले एकाएक पठन संस्कृतिको बढायो । राजनीति, साहित्य, दर्शन, आत्मविकास—सबैतर्फ आमपाठकको रुचि फैलिन थाल्यो । 

कुनैबेला छापेर बाँड्ने लेखक धेरै हुन्थे । तर व्यावसायिक प्रकाशन गृहको प्रवेशसँगै किताब किनेर पढ्ने लहर चल्यो । ठिक त्यहीबेला आयो, सामाजिक सञ्जाल । पाठकले त्यसको प्रयोग पनि भरमार गर्न थाले । किताब किन्ने, लेखकलाई हस्ताक्षर गराएर तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गर्नु फेसनजस्तै बन्न थाल्यो । आफूलाई मन परे वा नपरेको स्टाटस लेख्न थाले । पाठक यतिविधि सक्रिय हुन थालेपछि प्रकाशकलाई राम्रा किताब छान्न र राम्रो सम्पादन गराउन करै लाग्यो ।   

केही वर्षको यो अभ्यासले दुईवटा काम गर्‍यो । एकातिर किताबबारे चर्चा बढायो भने अर्कोतर्फ नयाँ पाठक जन्मायो । प्रकाशक र लेखकलाई यसले उत्साह थपिदियो । त्यसैले हो, नेपाली साहित्यमा बेस्ट सेलर पुस्तक र सेलिब्रिटी लेखकको अवधारणा स्थापित गरिदिएको । पल्पसा क्याफे, सोच, कर्णाली ब्लुज, सेतो धरती, चिना हराएको मान्छे, समर लभ, साया बेस्ट सेलर मात्र भएनन्, लेखकलाई पनि सेलिब्रिटी बनाइदियो । यसबीचमा दर्जनौं पुस्तक पाठकले रुचाए, धेरै बिके । राजन मुकारुङको दमिनी भीर, उपेन्द्र सुब्बाको लाटो पहाड, सौरभको असहमति, वसन्त बस्नेतको महाभारा, गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात, डा. नवराज केसीको शून्यको मूल्य, युग पाठकको उर्गेनको घोडा, जीएस पौडेलको एकसर्को माया, रामलाल जोशीको ऐना, राधा पौडेलको खलंगामा हमला धेरै पढिने पुस्तकमा पर्छन् । 

बेस्टसेलर हुनु र होलटाइम लेखक हुनु एउटै कुरा होइन । जब पाठकले किताबभन्दा पहिले लेखकको नाम हेर्न थाल्छ, लेखकको सिर्जनाप्रति भरोसा गर्न थाल्छ, प्रकाशकलाई छाप्नुपर्ने पुस्तकको प्रति अनुमान हुन थाल्छ । त्यतिबेला लेखक होलटाइमर मात्र होइन्, सेलिब्रिटीकै दर्जामा उक्लिन्छ । 

समीक्षक राजकुमार बानियाँ बेस्ट सेलरको निश्चित मानक नभए पनि पछिल्लो समय नेपाली किताबको बिक्री बढेको र त्यसले लेखकलाई ‘सेलिब्रिटी’जस्तो बनाइदिएको बताउँछन् । ‘संख्यासँगै गुणवत्ता पनि त्यत्तिकै बढेको भए सुनमा सुगन्ध हुन्थ्यो,’ उनी भन्छन्, ‘हामी नेपाली कल्पनामा धेरै रमाउने रहेछौं । निबन्धहरू इतिहासभन्दा उपन्यास धेरै पढिनुले त्यही भन्छ । सेल्फहेल्प र धार्मिक पुस्तक पनि धेरै पढिएका छन् । समाजशास्त्र र इतिहासका पुस्तक धेरै पढिए म खुसी हुन्थें ।’ 

पठन संस्कृति विकास हुनु सखद् भए पनि किताबप्रति अविश्वास पनि उत्तिकै बढेको बानियाँ बताउँछन् । उनले भनेझै यसबीचमा समाज र राजनीतिका गम्भीर सवाल साहित्यले बलियोसँग उठाउन सकेको देखिँदैन । न दशक लामो सशस्त्र विद्रोहको सामाजिक–राजनीतिक महत्व राख्ने पुस्तक आयो, न त नाकाबन्दीकै । फाइन प्रिन्टका प्रकाशक अजित बराल पुस्तकका लागि लेखकमा लगानी गर्ने तहमा नेपाली प्रकाशक नपुगेको बताउँछन् । ‘हाम्रा प्रकाशन गृह एकदमै राम्रा भएका भए एउटा राम्रो लेखकलाई एडभान्स लिएर पुस्तक लेख्न जानुस् भन्न सकिन्थ्यो । त्यो स्थिति छैन,’ उनी भन्छन्, ‘माओवादी जनयुद्धबारे धेरै संस्मरणहरू आए । तर ती तत्कालीन समयको समग्र पाटो दिने ढंगले आएनन् ।’ 

दुई दशकमा नेपाली पुस्तक बजारले उकालो मात्र हिँडेको छैन । भूकम्पदेखि नाकाबन्दी, कोभिडदेखि जेनजी विद्रोहले बिथोलेको अर्थतन्त्रको धक्का पनि बेहोरेको छ । किताब अत्यावश्यक वस्तु होइन । मानिसले खाना, औषधि र घरभाडापछि मात्र किताब किन्छ । त्यसैले आर्थिक संकटको पहिलो मार पुस्तक बजारलाई पर्‍यो । केही समय त बजार लगभग ठप्पजस्तै रह्यो । 

अर्थतन्त्रमा सुधारसँगै बजारमा किताब देखिन थालेका छन् । तर नेपाली भाषाका किताबको बिक्री स्थिरजस्तै छ । तर समग्र पुस्तक बजार भने घटेको छैन । बरु अंग्रेजी किताबको बजार बढ्दै गएको देखिन्छ । भारतीय लेखिका अरुन्धती रोयले मंसिर तेस्रो साता काठमाडौंमा पाएको न्यानो स्वागत र उनका पुस्तकमा हस्ताक्षर गराउन लागेको भिडले पनि त्यही संकेत गर्दछ । ‘सहरी क्षेत्रका युवा बोर्डिङ स्कुलबाट आएका छन्, जहाँ नेपाली र सामाजिक शिक्षाबाहेक सबै विषय अंग्रेजीमा पढाइन्छ,’ बुकहिलका प्रकाशक भूपेन्द्र खड्का सुनाउँछन्, ‘नेपाली भाषामा राम्रा किताब नआएर होइन, अंग्रेजीमा पढ्न सजिलो मान्ने पुस्ताले पनि प्रभाव पारेको छ ।’ 

कोरोनाअघि पेनगुइन इन्डियाले नेपालको लागि वार्षिक २ करोडको कारोबार लक्ष्य राखेको थियो । पछिल्ला वर्षमा त्यो लक्ष्य बढेर ५ करोड रुपैयाँ नाघेको बताइन्छ । यो एउटा कम्पनीको मात्र तथ्यांक हो । भारतबाट नेपालमा थुप्रै ठुला–साना प्रकाशकले किताब पठाउँछन् । मोबाइलको व्यापक प्रयोग, अंग्रेजी माध्यममा शिक्षा, बाल्यकालदेखि नै अंग्रेजी सामग्रीसँगको निकटताले नयाँ पुस्तालाई अंग्रेजीतर्फ डोर्‍याएको छ । युवापुस्तालाई नेपालीभन्दा अंग्रेजी पढ्न सजिलो लाग्न थालेको छ, जुन नेपाली भाषा साहित्यका लागि चुनौती बन्दै गएको छ । 

फेरिएको मार्केटिङ 

पुस्तकको बिक्री ढर्रा पनि फेरिएको छ । पुस्तक बिक्री अब पसलबाट मात्र हुँदैन । अनलाइन विक्रेता र सामाजिक सञ्जाल पुस्तक बिक्री गर्ने राम्रा माध्यम बनेका छन् । बुक बर्थ, नेपाल मण्डला, किताब यात्राजस्ता प्लेटफर्म यसकै उदाहरण हुन् । पछिल्लो समय किताब किरोको निकै चर्चा छ । पुस्तक तथा पत्रिका मार्केटिङको लामो अनुभव लिएका तारानिधि रेग्मीले टिकटक र सर्ट भिडियोमार्फत रहरलाग्दोसँग किताब बेचिरहेका छन् । बजारमा चर्चामा रहेका सेलिब्रिटी लेखकका बेस्ट सेलर बुक, आत्मकथा, उत्प्रेरक, जीवन उपयोगी एवं सेल्फहेल्पका किताबबारे भिडियो चर्चा गर्छन् । उनको भिडियो हेरेरै देशकै विभिन्न सहरदेखि विदेशसम्मबाट किताबको अर्डर आउँछ । ‘मार्केटिङको फर्मुला फेरिएको छ, भिडियो बनाएर पाठकलाई कन्भिन्स गर्न सजिलो हुन्छ,’ रेग्मी भन्छन्, ‘भयंकरै त नभनौं । राम्रो भइरहेको छ ।’ उनले दैनिक डेढ/दुई सयसम्म पुस्तक बेचिरहेका छन् । 

किताबको अर्थतन्त्र 

नेपाली पुस्तक बजारको कारोबारबारे यकिन तथ्यांक कतै भेटिँँदैन । नेपालको पुस्तक बजार कति ठुलो छ भन्ने कुनै आधिकारिक अध्ययन छैन । सरकारी निकाय वा प्राज्ञिक संस्थाले यसमा कुनै चासो देखिँदैन । तर किताबको साजसज्जा र गुणस्तरीय छपाइमा प्रकाशन गृहले निकै मिहेनत गरेको देखिन्छ । चलेका गृहहरूले किताब छाप्नै भारत पठाउने गरेका छन् । चलेका प्रकाशन गृहका अनौपचारिक तथ्यांकले साहित्यिक पुस्तकको वार्षिक कारोबार १५–२० करोडको हाराहारीमा देखिन्छ । जुन पाठ्यपुस्तकको बजारको तुलनामा निकै कम रहेको फाइनप्रिन्टका बराल बताउँछन् । 

पुस्तक बिक्री हेर्दा नेपाली पाठकको रुचि भने प्रस्टै देखिन्छ । सबैभन्दा खुसी कसरी हुने, तनाव कसरी घटाउने, जीवन कसरी सुधार्ने, सफल हुने सूत्रजस्ता सेल्फ–हेल्प र मोटिभेसनल पुस्तकमा पाठकको आँखा परेको देखिन्छ । त्यसपछि जीवनी र आत्मकथा अनि आख्यान । आख्यानमा सबैभन्दा धेरै पढिने विधा उपन्यास बनेको छ । बेस्टसेलर पुस्तकका सेलिब्रिटी लेखक धेरैजसो उपन्यासकार हुनुको कारण पनि त्यही हो । 

पुरस्कार जितेका किताबको दीर्घकालीन बिक्री राम्रो हुन्छ । कुनै पुस्तकले मदन पुरस्कार पायो भने बुझ्नुपर्छ, अब त्यो किताब कम्तीमा ५ हजार धेरै बिक्छ । संग्रह, उपहार र लाइब्रेरीका लागि यस्ता किताब खोजिने गरेको छ । विक्रेतालाई पाठक ‘कन्भिन्स’ गर्न पनि पुरस्कृत किताबले सघाउ पुग्छ । 

डिजिटल युगको प्रभाव गहिरिँदै जाँदा नेपाली पुस्तक बजार मात्र होइन, प्रकाशन उद्योग पनि नयाँ मोडमा आइपुगेको छ । अब कागजमा मात्र सीमित रहने समय घर्किंदै छ भन्ने कम्तीमा प्रकाशन गृहले बुझ्न थालेका छन् । त्यसैको प्रभाव हुनुपर्छ, अडियो बुक, ई–बुक, अन्तर्राष्ट्रिय बजारलाई नयाँ विकल्पका रूपमा हेरिँदै छ । डायस्पोरामा ठुलो नेपाली समुदाय छ । उनीहरू नेपाली किताब पढ्न चाहन्छन् । प्रविधिले त्यो सम्भव पनि छ । नयाँ युगमा किताबको स्वरूप फेरिन सक्छ । माध्यम बदलिन सक्छ । तर ज्ञानको खोजी पक्कै रोकिने छैन । 

यो पनि पढ्नुहोस्–

दुई दशकका बेस्टसेलर २० पुस्तक (सूचीसहित)

कर्नाली ब्लुज : बाबुछोराको सम्बन्धको कथा

सेतो धरती : एकल महिलाको संघर्षको चित्रण

समर लभ-साया : युवा पाठक रिझाउने प्रेमकथा

सोच : सकारात्मक बन्ने सुत्र

प्रयोगशाला : साउथ ब्लकको पर्दाफास

जीवन काँडा कि फूल : जीवनप्रति आशा जगाउने किताब

योगमाया : पहिलो महिला क्रान्तिकारीको जीवनी

लू : देहातको कथा

मोक्षान्तः काठमान्डु फिभर : जसले नगरकोटी चिनायो

पल्पसा क्याफे : साहित्यमा नयाँ प्रयोग 

खुसी : जीवनदर्शन पठाउने किताब

चिना हराएको मान्छे : महको सफलताको कथा

नीलो प्रेम : छोटो समयमै बेस्टसेलर

महावीर पुनः किताब बेचेर अभियान

अन्तरमनको यात्रा : जीवनको गहिरो चिन्तन

विनोद चौधरी : प्रेरणादायी आत्मकथा

रक्तकुण्ड : दरबार हत्याकाण्डबारे वैकल्पिक दृष्टि

संसारलाई साढे पाँच फन्को : रोचक यात्रा वर्णन

मुकाम रणमैदान : इतिहास पढाउने किताब

राधा : प्रेमको दार्शनिक गहिराइको खोजी

सम्बन्धित खबर