
दोहा, कतार : सर्लाही प्रवासी सेवा समाज कतारले कतारमा रहेका सर्लाही बासीहरूलाई समेट्दै वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कतारमा रहेका सर्लाहीवासीहरूलाई समाजमा समेट्ने उद्देश्यसहित आयोजित वनभोज कार्यक्रम समाजका अध्यक्ष प्रकाश आले मगरको सभाध्यक्षता तथा मधेश प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष कलाम हुसेन खानको प्रमुख आतिथ्यतामा शुक्रबार अलखोरको पर्पल आइसल्यान्ड सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खानले जिल्ला बलियो बने प्रदेश बलियो बन्ने बताउँदै समाजमा सकारात्मक तथा रचनात्मक कार्य गर्नुपर्ने बताए । कतारदेखि नेपालसम्म दिन दु:खीहरूको सेवामा समाज लाग्नुपर्ने बताउँदै समाजलाई केही दिन्छु भन्ने मनले समाजसेवामा लाग्नुपर्ने बताए । तीन सय भन्दा बढी सर्लाहीवासीहरूको उपस्थिति रहेको कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन करिब आधा दर्जन कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । समाजलाई गतिशील बनाउन तथा समाजले सञ्चालन गरेका विभिन्न गतिविधिहरूलाई सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
समाजका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक बाबुलाल महतोले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव नयन भुजेलले सहजीकरण गरेका थिए । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष मगरले वनभोज कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरेका थिए ।
