२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अलपत्र महेशपुर–परासी–सुनवल सडक

shivam cement
विनोद निगम
२०८२ फागुन ७ गते २१:२०
Shares
अलपत्र महेशपुर–परासी–सुनवल सडक

नवलपरासी : पश्चिम नवलपरासीको सीमावर्ती नाका महेशपुरबाट सदरमुकाम परासी हुँदै सुनवल जोड्ने महत्वपूर्ण सडक स्तरोन्नति आयोजना कागजमा तीव्र गतिमा अघि बढेको देखिए पनि मैदानमा भने अझै अधुरै छ । सूचना बोर्डमा २०८१ असोज २६ भित्रै निर्माण सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता जनाइए पनि निर्धारित समयसीमा सकिएको महिनौं बितिसक्दा समेत काम ४० प्रतिशत नपुगेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । 

सडक डिभिजन कार्यालय बुटवलले २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ रुपैयाँ ७२ पैसा (भ्याटसहित) लागतमा उक्त सडक स्तरोन्नतिको ठेक्का दिएको थियो । ठेक्का पाएको गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालि ले २०८० वैशाख २६ गते सम्झौता गरी २०८१ असोज २६ भित्रै काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएको थियो ।

तर सम्झौताअनुसार काम अघि नबढेपछि पहिलोपटक म्याद थपियो । त्यसपछि २०८२ असार मसान्तसम्म दोस्रोपटक र हाल २०८२ मंसिरसम्म तेस्रोपटक म्याद थप गरिएको छ । पटक–पटक म्याद थपिँदा पनि निर्माणको गति भने अपेक्षित रूपमा बढ्न नसकेको स्थानीयको गुनासो छ ।

निर्माण पक्षले भने प्राविधिक समस्या, मौसम, सामग्री आपूर्तिमा ढिलाइलगायत कारणले काम प्रभावित भएको बताउँदै आएको छ । तर स्थानीयवासी भने यसलाई लापरबाही र कमजोर अनुगमनको परिणाम ठान्छन् । 

स्थानीयका अनुसार सडकका दुवैतर्फ गिट्टी खसालिएको अवस्था महिनौदेखि उस्तै छ । सुक्खा मौसममा अत्यधिक धुलो उड्ने र वर्षायाममा हिलो जम्ने समस्याले दैनिक आवतजावत कष्टकर बनेको छ ।

धुलोका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढेको, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको तथा मोटरसाइकल चिप्लिएर साना दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् ।

धुलो नियन्त्रणका लागि कहिलेकाहीँ पानी छिर्किने गरिएको भए पनि सवारी साधनको अत्यधिक चापका कारण केही समयमै पुनः धुलो उड्ने अवस्था रहने गरेको छ ।

सडक विस्तारको नाममा दर्जनौं पसल र संरचना हटाइएका छन्। कतिपय घरधनीले मुआब्जा प्रक्रियाको प्रतीक्षामा आफ्ना घर भत्काए भने केहीले सडक फराकिलो भएपछि व्यापार बढ्ने अपेक्षामा संरचना हटाए । तर निर्माण कार्य अलपत्र परेपछि उनीहरू दोहोरो मारमा परेका छन् । ‘घर भत्कियो, व्यापार गुम्यो, तर सडक बनेन,’एक स्थानीय व्यापारीले आक्रोश पोखे ।

व्यापार घट्दा दैनिक आयसमेत घटेको र वैकल्पिक व्यवसाय सुरु गर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । महेशपुर–हरपुर खण्डको करिब १.५ किलोमिटर सडक दुई वर्ष बितिसक्दा पनि पूरा नभएपछि स्थानीय युवाहरू आन्दोलनमा उत्रिएका थिए । सोमबार उनीहरूले दुई घण्टा सडक अवरुद्ध गर्दै निर्माण कम्पनी र सरोकारवाला निकायलाई काम तीव्र बनाउन चेतावनी दिएका थिए ।

आन्दोलनरत युवाहरूले निर्माणको स्पष्ट कार्यतालिका सार्वजनिक गर्न, नियमित प्रगति विवरण सार्वजनिक गर्न र ढिलाइका कारणबारे जवाफदेहिता सुनिश्चित गर्न माग गरेका छन् । महेशपुर नाकाबाट सदरमुकाम परासी हुँदै पूर्व–पश्चिम राजमार्ग जोड्ने यो सडक सीमावर्ती व्यापार, यात्रु आवतजावत र स्थानीय अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । दैनिक सयौं सवारी साधन र मालवाहक ट्रक आवतजावत गर्ने यस सडकको स्तरोन्नति नहुँदा भन्सार राजस्व संकलन, ढुवानी लागत र स्थानीय बजारसमेत प्रभावित हुने सरोकारवालाको भनाइ छ । पहिलो खण्डमै ढिलाइ हुँदा सम्पूर्ण परियोजना सम्पन्न हुन अझै वर्षौँ लाग्ने चिन्ता व्यक्त गरिएको छ ।

सूचना बोर्डमा उल्लेखित मिति र वास्तविक अवस्थाबीचको ठूलो अन्तरले सरकारी अनुगमन संयन्त्र र ठेकेदारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।

स्थानीयवासीले नियमित अनुगमन, प्राविधिक मूल्यांकन  कार्यदक्षताका आधारमा ठेकेदारलाई कडाइ गर्न माग गरेका छन् । समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिमा नियन्त्रण नगरे यस्ता महत्वपूर्ण आयोजना वर्षौंसम्म अलपत्र पर्ने जोखिम बढ्ने उनीहरूको आशंका छ ।

सडक विकासको सपना बोकेर सुरु गरिएको आयोजना अहिले स्थानीयका लागि असहजता र आक्रोशको कारण बनेको छ ।  अब सम्बन्धित निकायले कागजी प्रतिबद्धता मात्र होइन, व्यवहारमा परिणाम देखाउने अपेक्षा स्थानीयको छ । 

सम्बन्धित खबर