२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

न्युयोर्कमा मिथिला सम्पदा संग्रहालय बनाइने

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १३:५५
न्युयोर्कमा मिथिला सम्पदा संग्रहालय बनाइने

न्युयोर्क : मिथिला सेन्टर युएसएका संस्थापक तथा अध्यक्ष अमित प्रताप शाहले न्युयोर्कमा मिथिला सम्पदा संग्रहालय बनाइने घोषणा गरेका छन् । अमेरिकाको न्युयोर्क शहरका मेयर एरिक एडम्सले आफ्नै निवासमा आयोजना गरेको मिथिला हेरिटेज रिसेप्सनमा शाहले सो घोषणा गरेका हुन् ।

अध्यक्ष शाहले मिथिलाको समृद्ध एवम् सांस्कृतिक सम्पदालाई मान्यता दिन मेयर एडम्स र स्थानीय सरकारले ऐतिहासिक कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गरे । सेन्टरले संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा प्रत्येक वर्ष प्रदर्शनी गर्दै आएको छ । 

म्यानहाटनस्थित ग्रेसी म्यानसनमा न्युयोर्कका मेयर एडम्सले आयोजना गरेको ऐतिहासिक कार्यक्रम मिथिला हेरिटेज रिसेप्सनले मिथिला क्षेत्रको जीवन्त समुदाय र सांस्कृतिक महत्वलाई जीवन्त बनाएको थियो । कार्यक्रममा मिथिला क्षेत्रको परम्परा झल्काउने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो भने संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यका बारेमा सामुदायिक सचेतना एवम् मिथिला कलाको भूमिकालाई उजागर गर्ने कला देखाइएको थियो । 

कार्यक्रममा न्युयोर्क शहरकी उपमेयर मीरा जोशीले सांस्कृतिक विविधतालाई आफूले सधै संरक्षण गर्ने भन्दै मिथिलाको सांस्कृतिक महत्व र पहिचानलाई संरक्षण गर्न सबै लाग्नुपर्ने बताइन् । कार्यक्रममा न्युयोर्क राज्यसभाकी सदस्य जेनिफर राजकुमार, न्युयोर्क सिटी काउन्सिल सदस्य जुली वोनलगायतले मिथिला कला र संस्कृतिको महत्वका बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

मिथिला सेन्टर अमेरिकाका सह–संस्थापक तथा मिथिला हेरिटेज म्युजियमका अगुवा नवलकिशोर यादवले मिथिला सम्पदा संग्रहालयले न्युयोर्क शहरको सांस्कृतिक विविधतालाई सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने दाबी गरे ।

कार्यक्रममा मिथिला कला र सम्पदामा योगदान पुर्‍याउने विशिष्ट व्यक्ति तथा संस्थालाई न्युयोर्क शहरका मेयर एडम्सले हस्ताक्षर गरेको प्रशंसापत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेमा मधेशी एशोसिएसन इन अमेरिका, एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा), विहार–झारखण्ड एशोसिएसन अफ नर्थ अमेरिका, रिजवुड नेपाली समाज, मिथिला सेन्टर अमेरिकाका संस्थापक सदस्य नवलकिशोर यादव र आशा शाहलगायत रहेका छन् । 

जनकपुर उपमहानगरपालिकाका मेयरका तर्फबाट मिथिला सेन्टर अमेरिकाको टोलीसहित संयुक्त राष्ट्रसंघका लागि नेपालका उपस्थायी प्रतिनिधि कौशल किशोर रोय र न्युयोर्कस्थित नेपाली महावाणिज्यदुतावासका कार्यबाहक महावाणिज्यदूत चक्रकुमार सुवेदीले न्युयोर्क शहरका मेयर एडम्सको कार्यालयलाई सीता मन्दिरको प्रतीक चिन्ह प्रदान गरेका थिए । 

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ साताव्यापी प्रदर्शनी गरिएको हो । मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्यदूतावास न्युयोर्कको संयुक्त आयोजनामा गरिएको प्रदर्शनी जुलाई १७ सम्म चलेको थियो । संयुक्त राष्ट्रसंघीय महासभाको ७८औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका थिए ।

प्रदर्शनीमा एस के सुमन, प्रतिक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिंह, मनिशा शाह सिं लगायतका चित्रकारको चित्रकला प्रदर्शनी गरिएको थियो । त्यस्तै जनकपुर महिला विकास केन्द्रका कलाकारहरु सेलो यादाव, सुधिरा कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो । 

न्युयोर्कका अधिकांश निर्वाचित पदाधिकारीहरू एवम् जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल र भारत सरकारका उच्चस्तरीय अधिकारीको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा न्युयोर्कका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise