
दोहा कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए) को फागुन ३० देखि चैत २ गतेसम्म (मार्च १४–१६, २०२६) हुने निर्वाचन संस्थाको विधानअनुसार नै गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएसँगै एनआरएनएका नेताहरू देश विदेश दौडाहामा छन् । १२औं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनमा आफूलाई अध्यक्ष पदका दाबेदारका रूपमा पेस गरेका डा हेमराज शर्मा सहितका नेताहरूले कतारको एक कार्यक्रमलाई सम्बोधन गर्दै भोट समेत मागेका छन् ।
गैरआवासीय नेपाल संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारले शनिवार साँझ आयोजना गरेको “स्वागत तथा भेटघाट कार्यक्रम”लाई सम्बोधन गर्दै वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका शर्माले संस्थामा भएका उतार चढाव बिच एकताको वातावरण बनेको बताउँदै मध्यपूर्वका देशका गैरआवासीय नेपालीको कुरा सुन्ने र निर्वाचित भएर आइसकेपछि कार्य योजना बनाउन सहज हुने बताउँदै शर्माले बहराइन र साउदी हुँदै कतारसम्म आइपुग्दा मध्यपूर्वका धेरै समस्याबारे सिक्न बुझ्न पाइएको बताए । मध्यपूर्वका मुद्दामा निकै केन्द्रित रहेका शर्माले अध्यक्ष पदमा आफूलाई सघाउन आग्रह गर्दै भोट मागे ।
नेपालका सबैभन्दा ठुलो दल मानिने राजनीतिक दलका पनि ८/१० लाख कार्यकर्ता रहेको तर ८० लाख नेपाली प्रवासमा रहे पनि १ लाख एनआरएनएको परिषद् सदस्य नरहेको तितो अनुभव सुनाउँदै स्वेच्छाले सदस्यता लिनेको सङ्ख्या अति कम भएको स्वीकार गरे । कुनै समय एनआरएनएमा १०/१५ लाख परिषद् सदस्य बन्ने विश्वास व्यक्त गर्दै शर्माले आफू अध्यक्षमा निर्वाचित भएको खण्डमा विश्व भरमा रहेका परिषद् सदस्यहरूले आफ्नो मोबाइलबाट भोट दिन पाउने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अर्को महाधिवेशन सन् २०२७ को अक्टोबरमै हुने स्पष्ट पारे । नेपालमा आसन्न चुनावलाई लक्षित गर्दै शर्माले सर्वोच्च अदालतले समेत प्रवासमा रहेका नेपाली मतदातालाई मताधिकारको प्रयोग गर्न दिनु भने पनि परम्परागत पुराना दलले आनाकानी गर्ने गरेको र आफूहरूले निर्वाचनमा सहभागी हुन् पाउनु पर्ने मागलाई सशक्त उठाउने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले आइसिसी देखि एनसिसीसम्म एकताको विकल्प नै नरहेको बताउँदै समयमै डेलिगेटस पठाउन आग्रह गरे ।
कार्यक्रममा महिला उपाध्यक्ष रोजिना प्रधान राईले आफूले मध्यपूर्वमा रहेका महिलाहरूको विषम परिस्थिति नजिकबाट देखेको बताइन । प्रवासमा रोजगारी गर्दै गर्दै आमा बनेका महिलाहरूको सन्तानलाई आमाकै नामबाट नागरिकता प्रदान गर्न भोग्नु परेका कठिनाइलाई स्मरण गर्दै पछिल्लो मध्यपूर्व भ्रमणले अझै एक कदम अगाडी बढेर खुला उपाध्यक्ष पदमार्फत एनआरएनएमा गाडी बढ्ने चाहना व्यक्त गरिन् ।
त्यस्तै अर्का वक्ता युरोप संयोजक चिरञ्जीवी खड्काले एनआरएनका तिता मिठा अनुभव सुनाउँदै यो एक अभियान रहेको र अभियान जीवन्त रहने बताउँदै आफू आगामी कार्यकालमा महासचिव पदमा रहेर कार्यसम्पादन गर्न इच्छुक रहेको बताए । खड्काले स्थापना काल देखी सन २०१२/१३ सम्म एनआरएनए प्रति सरकारले सदैव सद्भाव राख्थ्यो भने त्यसयता एनआरएनएमा राजनीति गन्धले सरकारले पनि देख्न नचाहने सङ्गठनका रूपमा रहेको बताए । मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले कोभिडको परियोजनाले साउदीमा सेल्टर स्थापना गरिएको स्मरण गर्दै उक्त सेल्टर डा शर्माकै कारण सम्भव भएको बताउँदै एनआरएनए अभियानमा आफू लगभग एक दशक देखी जोडिएको बताए । उनले मध्यपूर्वका श्रमिकको हकहितमा थप जिम्मेवारीमा रहेर कार्य गर्न सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताए ।
एनसिसी कतारका पूर्वअध्यक्ष मोहमद मुक्तदाले एनसिसिको फुटले कतारका सरकारी निकायमा समेत अन्यौलता देखिएको स्मरण गरे । एनआरएनए कुनै समय ब्रान्ड बनेको र अहिले अवस्था फरक रहेको बताउँदै एनसिसिमा एकताको विकल्प नरहेको बताए । देश रेमिटेन्सले चलेको भनेर नेताले चुनावी अभियानमा राखे पनि रेमीट्यान्स पठाउनेलाई प्राथमिकतामा नराखेको बताउँदै विश्वका थुप्रै देशमा बिना शुल्क रेमिटेन्स पठाउने व्यवस्था भए पनि नेपाल पठाउँदा २५ रियाल सम्म शुल्क लाग्ने तर्फ उनले एनआरएनए र सरकार दुवै गम्भीर भएर निःशुल्क कायम गर्नुपर्ने बताए ।
कतारमा रहेका दुई वटा एनसिसीले संयुक्त रूपमा कार्यक्रमको आयोजना गर्ने भनी पनि अन्तिम मिनेटमा टिमले स्वीकार नगरेको भन्दै अर्का एनसिसीका अध्यक्षले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न अस्वीकार गरेको कार्यक्रमका सभाध्यक्ष तथा एनसिसी कतारका अध्यक्ष पदम गिरीले बताए । गिरीले एनसिसी एकताका लागि र संयुक्त रूपमा स्वागत भेटघाट कार्यक्रमका लागि आफूहरू हदै सम्म लचिलो भएको बताए । आफूहरू हारेर या कहीँबाट आएर बनेको नभई वैधानिक रूपमा गठन भएको दाबी गर्दै एनसिसी एकतामा केही समय लागेको स्मरण गर्दै कसरी एकता गर्ने हो भनी उनले उपाध्यक्ष शर्मालाई नै प्रश्न गरे । उनले केन्द्रले लेख्ने पत्रमा उल्लेख हुने “आमसहमति” शब्दले टेक्निकल्ली अप्ठेरो पर्ने गरेको स्विकार्दै एनसिसीलाई अप्ठेरो नपार्न र सहमतिका लागि केन्द्रका कतारमा रहेका पदाधिकारीहरू जिम्मेवार बन्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा आइसिसी सल्लाहकार कमलमणि गुरागाईँ, एनआरएनएका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, संस्थापक सदस्य सागर नेपाल, आइसिसी सदस्य तेज कटुवाल, एनआरएन अभियन्ता करिम बक्स मिया, चानक पोखरेल लगायतले आफ्ना धारणा राखेका थिए । एनसिसिका प्रथम उपाध्यक्ष रोशन अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव शिव भुजेलले सहजीकरण गरेका थिए ।